बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन
स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन दुई दिन बाँकी रहेसँगै मौन अवधि सुरू भएको छ ।
निर्वाचन हुनुभन्दा दुई दिन अघिबाट मौन अवधि सुरू हुने कानुनी व्यवस्था अनुरूप ०७९ वैशाख २७ गते मध्यरातीबाट मौन अवधि सुरू भएको हो ।
यस पटकको स्थानीय निर्वाचनमा राजनीतिक दलबीच एक अर्कालाई निषेध गर्ने गरी चुनाव प्रचार प्रसारका क्रममा हिंसात्मक गतिविधि भएका छैनन् । साथै विगतका निर्वाचनमा भन्दा आचारसंहिता विपरीतका सामान्य घटना बाहेक खर्चिलो र भड्किलो निर्वाचन प्रचारप्रसारका गतिविधि भएको सार्वजनिक नभए पनि स्थानीय तहमा निर्वाचन आचारसंहिता विपरीत झण्डा, तुल, व्यानर राखेको पाइएको छ ।
यसैबीच इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले पनि काठमाडौँका विभिन्न मतदानस्थलमा पुगेरे निर्वाचन प्रकृयाकाे अनुगमन गर्नु भएको छ । काठमाडौँका मतदान स्थलमा मतदाता परिचय पत्र लिने मतादाताको सङ्ख्या उल्लेख्य रहेको पाइएको थियो ।
इन्सेक बागमती प्रदेश अन्तर्गत स्थानीय निर्वाचनसम्बन्धी जिल्लागत दैनिक निम्नानुसार रहेको छ ।
इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको मतदान केन्द्रबाट वैशाख २८ गते दिउँसो सोही वडाका वडा अध्यक्ष महेश काफ्लेले १ सय २५ ओटा मतदाता परिचय पत्र बोकेर फरार भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिनुभयो । मतदाता परिचयपत्र बोकेर मतदान केन्द्रबाट तीव्र गतिमा दौडिएका काफ्लेले मतदान केन्द्र भन्दा केही पर तयारी अवस्थामा राखिएको स्कोरपियो प्रयोग गरेर भागेका थिए ।
प्रहरीले पछ्याउन थालेपछि काफ्लेले आफ्ना सहयोगीलाई मतदाता परिचयपत्र छोडेर भागेका र उनका सहयोगीले ती परिचयपत्र प्रहरीलाई बुझाएका छन् । वडा अध्यक्षबाटै मतदाता परिचयपत्र असुरक्षित होला भन्ने प्रहरीले अनुमान समेत नगरेको प्रमुख पौडेलको भनाई छ । काफ्ले स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए ।
इलाका प्रहरी कार्यालय, जिरीले ०७९ वैशाख २७ गते राति लिङ्कन बजारबाट १९ जना अपरिचित व्यक्तिलाई गिरफ्तार गरेको छ । भ्यान, बोलेरो, स्कारपियो लगायतका पाँच ओटा सवारी साधनमा जिरी आएको सो समूह शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय जिरीबाट खटिएका इन्स्पेक्टरको टोलीसहित सशस्त्र प्रहरी बल समेतको टोलीले उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशील केसीले जानकारी दिनु भयो ।
प्रहरी घटनास्थल पुगेपछि उनीहरू भाग्न थालेपछि स्थानीयले उनीहरू चढेर आएका गाडीमा तोडफोड गरेपछि अवस्था तवाग्रस्त हुन पुगेको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायरिङ पनि गरेको थियो ।
स्थानीयले सोधखोज गर्दा परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेका उनिहरू के उद्देश्यले जिरी प्रवेश गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केसीले बताउनु भयो ।
यसैगरी कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ मा ०७९ वैशाख २७ गते नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एमालेका कार्यकर्ता राजेन्द्र कार्की र कांग्रेसका कार्यकर्ता क्षत्र कार्की घाइते भएका छन् ।
घाइतेमध्ये क्षत्र कार्कीको उपचारका लागि जिल्ला सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते राजेन्द्र कार्कीको प्राथमिक स्वास्थ्य केन्द्र, सिंगटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिनुभयो ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लाको नेपाल चिन सिमानाको रसुवागढी नाका बन्द गरिएको छ । मौन अबधिमा प्रचार प्रसार नभए पनि केहही उम्मेदवार भने घरदैलोमा देखिएका छन् । मतदान केन्द्रमा कर्मचारी पुगेर सर्वपक्षीय बैठक गरेका छन् भने मतदाता परिचय वितरण र नमुना मतदान कार्य पनी भइरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएसँगै आसन्न स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतदाता परिचयपत्र, मतपेटिका लगायत निर्वाचनमा चाहिने ५८ प्रकारका सामग्रीसहित मतदान अधिकृतसहितका कर्मचारी जिल्लाका ११ ओटै स्थानीय तहका मतदान केन्द्रमा खटिइसकेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर मतदाताको संख्या ६ लाख ३७ हजार ७ सय रहेको छ जसमा ३ लाख २९ हजार ५४५ महिला, ३ लाख ८ हजार २२१ पुरुष र नौ अन्य मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ३ सय २० मतदानस्थल छन् भने ७ सय ५९ ओटा मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या धेरै भएका केन्द्रहरूमा पाँच ओटासम्म बुथ राखिएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताउनुभयो ।
खतिवडाका अनुसार थापागाउँस्थित साविक मेरिगोल्ड बोर्डिंङ्ग स्कुल हाल बन्द रहेको र उक्त स्थानमा नयाँ भवन निर्माण कार्य चलिरहेकाले त्यहाँ रहेको मतदान केन्द्र नजिकैको पाठशाला बोर्डिंङ्ग स्कुलमा सारिएको छ । खतिवडाका अनुसार नयाँ मतदाताको परिचय पत्र नयाँ कायम गरिएको मतदान केन्द्रबाटै आजबाट वितरण सुरु गरिएको छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा वैशाख २७ गते भएका तीन ओटा घटनामा ६ जना नेकपा एमालेका कार्यकर्ता घाइते भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा एमालेको घरदैलो कार्यक्रममा ०७९ वैशाख २७ गते साँझ नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते हुनुभएको छ ।
घाइतेहरूको स्वास्थ्य अवस्था गम्भीर भएकोले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित मनमोहन अस्पतालमा स्वयंभुमा भर्ना गरिएको छ ।
यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका –७ खहरेमा पनि सडकमा हिँडेका एमाले कार्यकर्ता शिशिर दनै र नेकपा एमाले त्रिपुरा सुन्दरी गाउपालिका–७ का रामबहादुर खड्का घाइते हुनुभएको छ ।
घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकी काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले घटना नियन्त्रणमा लिएको जनाएको छ ।
घटना नियन्त्रणमा लिएर दलहरूबीच समन्वय र शान्ति कायम गर्ने सर्वदलिय सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राकेश सिंहले स्थानीय स्तरमा शान्ति कायम गर्ने, सुरक्षा दिइएको बताउनुभयो ।
यसैबीच घटनामा संलग्नहरूलाई कारबाही गर्न र घाइतेहरूको उपचारको माग गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले वैशाख २८ गते एक विज्ञप्ति प्रकाशन गर्नु भएकव छ ।
यसैगरी सिद्धलेक गाउँपालिका–५ बाघबचछला नजिकैँ नेकपा ९माओवादी केन्द्र० का कार्यकर्ताले आक्रमण गर्दा नेकपा एमालेका कार्यकर्ता सिद्धलेक गाउँपालिका–५ निवासी २६ वर्षीय राकेश श्रेष्ठलाई गम्भीर घाइते हुनु भएको छ । माओवादी कार्यकर्ताले फलामको रड र ढुङ्गामुढाले आक्रमण गर्दा घाइते भएका श्रेष्ठको मलेखु स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । साथै घटनामा श्रेष्ठ सवार रहेको सहित तीन ओटा मोटरसाइकलमा क्षति पुगेको छ ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा निर्वाचन आयोगको आचारसंहिता विपरीत टाँगिएका उम्मेदवारहरूको तुल, व्यानर, झण्डाहरू हटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका क्षेत्रमा टाँगिएका तुल। व्यानरहरू वैशाख २६, २७ र २८ गते हटाएको हो ।
सार्वजनिकस्थलमा टाँगिएका व्यानर, झण्डा र तुलहरू हटाइएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले सार्वजनिक स्थानहरूमा उम्मेदवाहरूले मत मागेको व्यानर, तुल, पार्टी तथा उम्मेदवारको झण्डा र चिह्न राख्न रोक लगाएको छ । दलहरूलाई हटाउन आग्रह गरिए पनि चासो नदिए पछि कार्यालय आफैले हटाएको हो ।
बेलकोटगढी नगरपालिकाको कोल्पुटार, महादेवफाँट, विदुर नगरपालिकाको देविघाट, बट्टार, विदुर, त्रिशूली लगायतको क्षेत्रमा सडक, विजुलीका पोल, सार्वजनिक कार्यालयहरूमा आचारसंहिता विपरीत टाँगिएका तुल, व्यानर, झण्डा र चिन्हको झण्डा लगायत सामग्रीहरू हटाइएको र हटाएको सामग्रीहरू ६ बोरा भएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
वैशाख २७ गते राती १२ बजेबाट मौन अवधि सुरु भएको र यसको पूर्ण पालना गर्न उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा दलका प्रतिनिधिहरूलाई निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले बताउनुभयो ।
वैशाख २८ गते विदुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा दलका प्रतिनिधिहरू सहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरिएको हो ।
जिल्लामा आचार संहिता उलङ्घनका लिखित रूपमा कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत लुईटेलले बताउनुभयो । ‘फोनमा फाट्टफुट्ट आएको गुनासोलाई फोन गरेर सचेत गराई समाधान गरिएको छ । लिखित रूपमा कुनै उजुरी आएको छैन’ उहाँले भन्नुभयो ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार स्थानीय तह निर्वाचनको लागि खटिएका मतदान अधिकृत लगायतका कर्मचारी तथा सुरक्षाकर्मीले जिल्लाका सबै मतदान केन्द्रमा पुगेर आफ्नो काम सुरु गरिसकेका छन् ।
मतदान केन्द्रबाट ०७८ वैशाख २८ गते नयाँ मतदाता र मतदाता परिचयपत्र हराएको निवेदन दिएका मतदाताको परिचयपत्र वितरण गर्ने काम भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । मतदाता परिचय पत्र २९ गते पनि वितरण गरिने छ ।
जिल्लामा स्थानीय तह निर्वाचनको लागि ९१ हजार १ सय ३१ जना पुरुष र ८७ हजार ७ सय ३६ जना महिला गरी १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका छन् ।
जिल्लामा ९२ ओटा मतदान स्थलमा २ सय २३ मतदान केन्द्र छन् । ती मध्ये २५ मतदान स्थल अतिसंवेदनशील र २६ ओटा मतदान स्थल संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ ।
दुई ओटा नगरपालिका, ६ ओटा गाउँपालिका र ६४ वडा रहेको जिल्लामा ३ सय ३६ जनप्रतिनिधि चुनिँदै छन् । यसको लागि १ हजार १ सय ५९ उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचनका लागि १ हजार १ सय १२ कर्मचारी परिचालित छन् । साथै निर्वाचन सुरक्षाको लागि १ हजार ७ सय प्रहरी र म्यादी प्रहरी, ७ सय नेपाली सेना र २ सय ५६ सशस्त्र प्रहरी खटेका छन् ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार स्थानीय तहको निर्वाचनका लागि प्रयोग हुने सामाग्री मतदान स्थलसम्म पुगेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुरका ६ ओटै स्थानीय तहबाट १ हजार ४ सय १५ जना उम्मेद्वार निर्वाचनमा सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेका अनुसार मतदान अधिकृतदेखि सहायक समेत गरी १ हजार ४ सय ३३ जना जनशक्तिले निर्वाचन प्रक्रिया सञ्चालन गर्ने भएका छन् ।
जिल्ल्ला भरी १ लाख २४ हजार ९ सय ५० जना महिला, १ लाख १८ हजार ९ सय ३३ जना पुरुष र १ जना अन्य गरी २ लाख ४३ हजार ८ सय ८४ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत धमलाले जानकारी दिनुभयो ।
ललितपुरमा १ सय ३१ ओटा मतदान स्थलमा २ सय ८८ ओटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
फोटो खिचाएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताहरुको मतदाता परिचयपत्र वैशाख २८ गतेबाट मतदान स्थलमा वितरण भइरहेको छ भने प्रत्येक मतदान केन्द्रमा ३÷३ जनाका दरले स्वयम्सेवक परिचालन हुने मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताउनु भयो ।
उहाँले मतदाता सचेतनाका लागि मतदान स्थल वरपरि पोष्टर लगायतका प्रचार सामाग्री टाँस गरिएको तथा नमुना मतदान समेत गर्ने जानकारी दिनु भयो ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार स्थानीय तहको निर्वाचन आउँन दुई दिन बाँकी हुँदा वैशाख २८ गते जिल्लाका विभिन्न मतदा स्थल तथा मतदान केन्द्रहरूको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा अनुगमन गरिएको छ ।
मतदान स्थलको तयारी कस्तो भइरहेको छ, मतदान पछि कसरी मतपेटिका लैजाने, मतगणना स्थलको तयारी कस्तो छ, थप गर्नु पर्ने अवस्था छ कि छैन लगायतकाबारेमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।
यसैगरी मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले यहाँका विभिन्न मतदान केन्द्रहरूको अनुगमन सम्पन्न गरेको छ ।
मौन अवधीमा पनि आचार संहिता पालना भए नभएको र मतदान स्थलको अबस्था कस्तो छ भन्ने जानारी लिदै आवश्यक तयारी पुरा गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कडेँल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको भैरबवाण गुल्म गठ्ठाघरका मेजर परशुराम थापा, प्रहरी बृत्त थिमिका डिएसपी हरिनारायण चौधरी, सशस्त्र प्रहरी दुवाकोट गणका डिएसपी सुरज कार्कीलगायतको टोलीले विभिन्न मतदान स्थलको अनगुमन गरेको हो ।
अनुगमनमा मतदानस्थल लगायतका क्षेत्रमा आचारसंहिता विपरीत विभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिन्हलगायतका प्रचार सामग्रीहरू तत्काल हटाउन लगाएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिनु भयो ।
मौसमको प्रतिकुल अवस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।
साथै सबै मतदान केन्द्रबाट पतदाता परिचय पत्र वितरण भइरहेको उहाँले बताउनु भयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ को मौन अवधीमा बकैया गाउँपालिकामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरीत बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।
बकैया गाउँपालिकाको वडा नं. ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताउनुभयो ।
यस्तै मनहरी गाउँपालिका–३ का लागि वडा अध्यक्षका उम्मेदवार अनन्तकुमार अर्यालले वैशाख २८ गते बाढ्न लागेको जस्तापाता स्थानीयले नियन्त्रणमा लिएका छन् ।
नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्यालले निर्वाचन आचारसंहिता विपरीत मनहरी –३ लामिटारमा रहेको प्रतीक्षालय छाउनको लागि भनेर ल्याएको २७ थान जस्तापाता स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
अर्यालले निर्वाचन आचार सहिताको उन्लङ्घन गर्नुको साथै मौन अवधिमा जनतालाई भोटको लागि फकाउन सार्वजनिक स्थलको लागि सहयोग गरेको जस्तो गरेर जनतालाई फकाउने कार्य भएको भन्दै जस्ता नियन्त्रणमा लिए प्रहरीलाई बुझाएको स्थानीय विष्णु अधिकारीले बताउनुभयो ।
काठमाडौँ महानरपालिकाको स्थानीय निर्वाचन तयारीका पर्यवेक्षणका क्रममा देखिएका केही मतदान स्थलहरू
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…