बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ मा ६५ प्रतिशत भन्दा बढी मतदान (फोटो फिचरसहित)

  ०७९ वैशाख ३० गते

स्थानीय तह निर्वाचन ०७९ को मतदानका कार्यक्रम वैशाख ३० गते साँझ ५.०० बजेसम्पन्न भएको छ ।

बागमती प्रदेशका केही मतदानस्थलमा सामान्य घटना भए पनि सबै जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ अधिकारीले बताउनु भएको छ ।

उहाँले बागमती प्रदेशका ४ हजार ९५ ओटा मतदान केन्द्रमै मतदान प्रकृया सम्पन्न भएको भन्दै मतपेटिका पालिकाको केन्द्रमा आइपुगेपछि मतगणनकाको कार्य सुरु गरिने जानकारी दिनु भयो ।

इन्सेक बागमति प्रदेश अन्तर्गत स्थानीय निर्वाचनसम्बन्धी जिल्लागत दैनिक निम्नानुसार रहेको छ ।

इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाप्रसाद पौडेलले बैतेश्वर गाँउपालिका–१ वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदाताबीच विविद हुँदा प्रहरीले हवाइ फायर पनि सर्वदलिय बैठकपछि मतदान प्रकृया सम्पन्न भएको जिल्ला प्रमुख निर्वाचन कार्यालयले पुष्टि गरेको छ ।

इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार जिल्लामा स्थानीय तहको निर्वाचन केही ठाउँमा भएको छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकोछ ।

बाह्रविसे नगरपालिका–३ मा रहेको क्षमादेवी मावि मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस बीच विवाद झडप हुँदा नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाइ फायर गरेको थियो ।

त्यसैगरी बाह्रविसे नगरपालिकाकै वडा नं. १ कर्थलीको भूमेश्वरी मावि क मतदान केन्द्रमा एमाले र कांग्रेस बीच झडप हुदा दिउँसो ११ः३० बाट रोकिएको मतदान एक घण्टापछि पुन शुरु भएको थियो ।

त्यसैगरी त्रिपुरा सुन्दरी गाउपालिका–३ धुस्कुन मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रहरीसँग खाजा खाने सवालमा विवाद र एक जनाले दुई पटक मतदान गरेको विषयमा नेपाली कांग्रेस र माओवादी बीच झडपको अवस्था सिर्जना भएको थियो । झडपका कारण दिउसो २ बजेबाट रोकिएको मतदान बेलुकी चार बजेबाट पुन सुरु भएको छ ।

त्यसैगरी पाँचपोखरी थाम्पाल गाउँपालिका स्थित याङग्री मतदान केन्द्रमा एमाले र गठबन्धन दलबीच विवाद हुँदा एक घण्टा मतदान स्थिगित भएको थियो ।

त्यसैगरी मेलम्ची नगरपालिका–४ ज्यामीरेको मतदान केन्द्रमा अशक्त्त तथा अपाङ्गता भएका व्यक्तिको मत राजनीतिक दलका प्रतिनिधिले नै मतदान गर्न सघाएपछि मतदानका लागि लाइनमा बसेकाहरु बीच झडपको अवस्था उत्पन्न भयो । झडपलाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेस्र्याएर हल्ट गरेका थिए ।

उल्लेखित घटना बाहेक जिल्लाभरको निर्वाचन शान्तिपूर्ण रहेको निर्वाचन कार्यालयले जनाएको छ । दिउसो ५ बजेसम्म मतदानको अवस्था ६५ प्रतिशत खसेको छ भने झडपका कारण रोकिएका स्थानहरुमा बेलुका ६ बजेसम्म मतदान कार्य जारी भएको निर्वाचन कार्यालयले जनाएको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएका मतदान केन्द्रहरुको मतपेटीका पालिका कार्यालयमा ल्याउने क्रम जारी रहेको छ ।

Photo 4 Kathmandu111घ

इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गजुरी गाउँपालिका–८ बरभन्ज्याङ मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । साँझ ५ बजे पनि मतदान केन्द्रमा १ सय जना भन्दा बढी मतदाता मतदानका लागि लाईनमा रहेका मतदातालाई मतदान गर्न नदिई मतपेटिका सेना प्रहरिले लिएर आएपछि एमाले र नृेकपा एकीकृत समाजवादी लगायतले विरोध जनाउदै रद्ध गर्न आग्रह गरेका छन् ।

यसैबीच निलकण्ठ नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट  मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानामाथि माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन् । निलकण्ठ नगर पालिका–५ मा मतदान हेर्न पुगेका उम्मेदवारमाथि गालिगलौज सहित हातपात भएको हो । ढुंगानामाथि हातपात भएको छेक्न गएका माओवादी केन्द्रका नीलकण्ठ–५ का वडा अध्यक्षका उम्मेदवार एवम् माओवादी केन्द्र धादिङका नेता रामकुमार श्रेष्ठ माथि पनि हातपात भएको छ ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान कार्य सकिएपछि वैशाख ३१ गते बिहानबाट मतगणना सुरु हुने भएको छ । वैशाख ३० गते साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराएकोले ढिलासम्म मतदान जारी रहको छ ।

मतदान कार्य सम्पन्न भइसके पछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै वैशाख ३१ गते बिहानबाट मत गणना कार्य सुरु हुने जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ ।

जिल्लाका २ नगरपालिका र ११ गाउँपालिकाका १ सय ९ मतदान स्थलमा रहेका ३ सय ३ ओटा मतदान केन्द्रबाट मतदान गरिएको थियो । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केहि स्थानमा बाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।

Photo 6 Kathmandu

Photo 1 Makawanpur4

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलका अनुसार काठमाडौँमा स्थानीय तह निर्वाचन २०७९ शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएकोछ । जिल्लाभर बेलुकी ५.०० बजेसम्म शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको र ६५ प्रतिशत मत खसेको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

मतदानको दिन अनौपचारिक सेवा केन्द्र (इन्सेक) अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ, संस्थापक अध्यक्ष सुशील प्याकुरेल र कार्यकारी निर्देशक विजयराज गौतम सहितको टोलीले काठमाडौँका विभिन्न ठाउँका मतदानस्थलको पर्यवेक्षण गरेको थियो । पर्यवेक्षण गरिएका सबैजसो मतदान केन्द्रमा दिउँसो १ बजेसम्म सरदार ३५ प्रतिशत मत खसेको पाइएको थियो । पर्यवेक्षणका क्रममा धेरै मतदान स्थलमा अपांङ्ग, अशक्त, वृद्धबृद्धाको लागि छुट्टै लाइनको व्यवस्था गरेको पाइएको थियो । त्यस्तै हनुमानढोका स्थित मतदान केन्द्रमा मतदाताको पुरानो परिचय मतदाता पत्रको क्रमसंख्या निर्वाचनमा खटिएको कर्मचारीसँग भएको प्रिन्ट कपीमा नमिलेको पाइएपछि त्यहाँ खटिएका कर्मचारीले राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मतदाता परिचय पत्रमा फोटो रहेको आधारमा मतदातालाई मतदानको व्यवस्था मिलाएका थिए ।

पर्यवेक्षणका क्रममा विद्यालयमा भएका अधिकांश मतदान केन्द्रहरुमा ठाउँसाँघुरो भएकाले बुथमा मतदाताको भिड देखिएको थियो । यस्तै बबरमहलस्थित दुरसंचार तालिम केन्द्रमा निर्वाचन पर्यवेक्षणमा खटिएका इन्सेक जिल्ला प्रतिनिधिसँग मतदाताले समयमै मतदान केन्द्र भित्र छिरे पनि एउटा भोट हाल्न लागि आधा घन्टासम्म लाइनमा बस्नुपरेको गुनासो गरेका थिए ।

त्यस्तै काठमाडौँको शंकटा मतदान केन्द्रको ३ सय मिटर भित्र राखिएका नेपाली कांग्रेसका वडाध्यक्ष र वडा सदस्यकाका साथै राप्रपाका उम्मेदवारको ब्यानर हटाइएको थिएन । त्यस्तै असन, क्षेत्रपाटी, भेडासिं जस्ता शहरका भित्रि गल्लीमा राजनीतिक दलका झन्डा पोलैपिछे टाँगिएको पाइएको थियो ।

Photo1kathmandu20790130

Photo 4 Kathmandu

स्पष्टीकरण

त्यस्तै निर्वाचन आयोगले पुर्व प्रधानमन्त्री एवं सत्तारुढ जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । भट्टराईले वैशाख ३० गते बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमामा मतदान गरिसकेपछि गोप्य हुनुपर्ने मतपत्र फेसबुकमा अपलोड गरेर सार्वजनिक गरेको भन्दै आयोगले उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो ।

संसद भवन अगाडि सिलिन्डर बम बिष्फोट

स्थानीय तह निर्वाचनको दिन बानेश्वरको संसद् भवन अगाडि वैशाख ३० गते बिहान २ बजे सिलिण्डर बम विष्फोट भएको छ । जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका सिसिटिभी फुटेजमा देखिए अनुसार एक जना अज्ञात व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डरमा आगो लगाएर बिष्फोट गराएका थिए । फरार रहेका अभियुक्तको खोजीकार्य जारी रहेको एसपी मैनालीले बताउनुभयो ।

इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरमा ७६ प्रतिशत मतदाताले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनमा जिल्लाका चार ओटै नगरपालिकामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा सुरु भएको मतदान उत्साह जनक रुपमा साँझ ५ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “भक्तपुर जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भइ सम्पन्न भएको छ, मतदाताको उत्साह जनक रुमा सहभागिता रहेको पाइयो, जिल्लामा कूल ७६ प्रतिशत मत खस्यो ।”  उहाँका अनुसार भक्तपुर नगरपालिकामा ७६ प्रतिशत, मध्यपुरथिमि नगरपालिकामा ७५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत र सूर्यविनायक नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ ।

जिल्लामा कूल १ लाख ८९ हजार ५ सय ८४ मतदाता रहेका छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २ सय ७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १ सय ४, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३ सय ६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८ सय ४३ जना छन् ।

मतदान सम्पन्न भएपछि जिल्लाको चार ओटै नगरपालिकाकामा रहेको ७७ मतदान स्थलमाको २ सय १९ मतदान केन्द्रबाट मत पेटिका मत गणना स्थलमा ल्याउने क्रम जारी छ । प्रमुख न्यौपानेले भन्नुभयो, “जिल्लाको चार ओटै नगरपालिकाका मतदान केन्द्रबाट मत पेटिका मत गणना स्थलमा ल्याउने क्रम जारी छ, सबै मत पेटिका आए पछि त्यसलाई रुजू गरि सर्वदलीय बैठक राखेर सोही निर्णय अनुसार मतगणना सुरु गर्छौँ ।”

उहाँले मतगणना आज रातीबाटै सुरु हुने जानकारी दिँदै मतगणना स्थललाई सुरक्षित राख्न तार जारीले घेरिएको र सबै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको जानकारी दिनु भयो । भक्तपुर नगरपालिकाको दरबारस्क्वायरस्थित जनज्योती पुस्तकालयको पुरोना भवन, मध्यपुरथिमिको बोडेस्थित कृषि बिकास तालिम केन्द्रमा, सूर्यविनायकको प्राणी उद्यानको कार्यालयमा र चाँगुनारायणको नेपाल विद्युत प्राधिकरण तालिम भवन खरिपाटीमा मत गणना हुने भएको छ ।

यसैगरी, मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले मध्यपुरथिमिबाट मत पेटिका सबै आइसकेको जानकारी दिएको छ । थिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले थिमि नगरपालिका भित्रका सबै मत पेटिका आइसकेकाले आजैबाट मत गणना सुरु गर्ने तयारी गरिएको जानकारी दिनु भयो । भक्तपुर नगरपालिकामा पनि सबै मत पेटिका आइसकेकाले आजैबाट मत गणना सुरु गरिने तयारी भएको बताइएको छ ।

Photo 1 Bhaktapur Photo 4 BhaktapurPhoto 2 Bhaktapur.jpg

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्लामा ६५ प्रतिशत भन्दा बढी मतदान भएको प्रमुख अधिकारी घनश्याम उपाध्यायले बताउनु भएको छ । उहाँ जिल्लाका समै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको र ५.०० बजेपछि पनि लाइनमा रहेका मतदातालाई मतदानको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनु भयो ।

इन्सेक रामेछाप प्रतिनिधि नबराज पथिकका अनुसार खाँडादेवी गाउँपालिका–१ राकाथुको मतदान केन्द्रमा मतदान स्थगित भएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपको कारण मतदान स्थगित भएको प्रहरी चौकी लुभुका इञ्चार्ज इन्द्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसैबीच जिल्लामा साँझ ५ बजेसम्म करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिनुभयो । उहाँले विस्तृत विवरण आउन बाँकी रहेको केही स्थानमा मतदान जारी रहेकोले यो सङ्ख्या थपिने बताउनुभयो ।

इन्सेक सिन्धुली प्रतिनिधि नातिबावु अधिकारीका अनुसार सुनकोसी गाउँपालिका –५ मा रहेको कालिका आधरभुत विद्यालय बन्दिपुरको मतदान केन्द्रमा दिउँसो १२ बजे फर्जि मत हाल्न खोजेपछि एमालेका कार्यकर्ताले फर्जि मत रोक्ने क्रममा भएको झडपमा एमालेका कार्यकर्ता भरत खड्का, शिवक थापा र अरजु खड्कामाथि कुटपिट भएको छ । उनीहरूलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ । झडपमा माओवादीका दुई जना र एमालेका पाँच जना भने सामान्य घाइते भएका छन् ।

सुनकोसी गाउँपालिका–६ को चैनपुरमा गठबन्धनले बुथ कब्जामा लिएको छ । गठबधन र एमाले कार्यकर्ता बीच मुठभेड भएको छ । गठबन्धनले मनोमानी तरिकाले मतदान गरेको भन्दै एमालेले बन्दिुर र पञ्चकन्या आधारभुत विद्यालय चैनपुर मतदान प्रक्रिया स्थगित गरी पुन मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृत ध्रुव सापकोटा समक्ष निवेदन दर्ता गराएको छ । गठबन्धनका कार्यकर्ताले एमालेका प्रतिनिधिलाई कुटपिट गरेपछि उनीहरुले मतदान स्थल छाडेका थिए ।

यसैबीच, कमलामाई नगरपालिका १३ को प्रभात माध्यमिक विद्यालय रानिवास र तिनपाटन गाउँपालिकाको वडा नं. ६ मा रहेको मावि गडाम्रेमा मतदान जारि रहेको छ । पानी परेपछि उक्त स्थानमा मतदान केहीबेर रोकिएको र अहिले मतदान जारी रहेको छ । साँझ ७.०० बजेसम्म रानीबासमा २ सय ५० र गडाम्रेमा ३ सय जनाले मतदान गर्न बाँकी रहेको छ ।

जिल्लाको गोलञ्जोर गाउँपालिकामा ७१ प्रतिशत, मरिण गाउँपालिकामा ७२ प्रतिशत मतदान भएको छ । अन्य स्थानीय तहको मतदानको विवरण आउन बाँकी रहेको छ । मतदान सकिएका स्थलहरूबाट मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइदैछ ।

Photo 1 Makawanpur1ज्ञ

इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार स्थानीय तहको निर्वाचन जिल्लामा शान्तिपूर्ण ढङ्गबाट मतदान भएको छ । जिल्लाका १०  ओटा स्थानीय तहमा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट मतदान  भएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कुल मतदाताको ६० प्रतिशत बढी मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । दिउँसो वर्षा भएकोले केही स्थानमा साँझसम्म मतदान प्रक्रिया जारी रहेकोले पूर्ण तथ्यांक आउन बाकी रहेको उहाले बताउनुभयो ।

निर्वाचन केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो । मकवानपुरका प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आजैबाट सबै स्थानीय तहमा मतगणना हुने छ । जिल्लाको १० ओटै स्थानीय तहमा मतगणना स्थलको तयारी समेत पूरा भएको बताउदै उहाँले मतदान केन्द्रहरुबाट मतपेटिका सङ्कलन गरी मत गणना स्थमा ल्याउने ल्याएको एकघण्टापछि मतगणना थालिने जानकारी उहाँले दिनु भयो ।

मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेका छन् भने जिल्लामा मतदानको लागि ३ सय ५६ मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

जिल्लामा सबैभन्दा बढि मतदाता बागमती प्रदेशको एकमात्रै उपमहानगरपालिका हेटौँडामा १ लाख ४ हजार ४ सय ७३ र सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ७१ मतदाता रहेका छन् । मकवानपुरमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल १हजार ९सय ३२ जना उम्मेदवार छन् ।

photo 2 makawanpur

Photo 1 Makawanpur3 Photo 1 Makawanpur2

चितवन इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार  जिल्लामा ६० प्रतिशत मत्र मतदान भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । साँझ ५.०० बजेसम्म ६० प्रतिशत मत खसेको छ । करिब २ लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।  जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भएको उहाँले जानकारी दिनुभयो ।

Photo 1 Citwan Photo 2 Citwan

Photo 4 Kathmandu111 Photo 4 Kathmandu11 Photo 4 Kathmandu1


इन्सेक बागमती प्रदेश कार्यालय, हेटाैँडा