बागमती प्रदेशको स्थानीय निर्वाचन २०७९ को मतदान पूर्वको अनुगमन

  ०७९ वैशाख २९ गते

स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन वैशाख ३० गते आउन एक दिन बाँकी रहेसँगै निर्वाचनका लागि सम्पूर्ण तयारी समाप्त भएको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ अधिकारीले बताउनु भएको छ ।

बागमती प्रदेशका ४ हजार ९५ ओटा मतदान केन्द्रमै सम्पूर्ण मतदान सामाग्री र कर्मचारी पुगिसकेको उहाँले जानकारी दिनु भयो । सबै मतदान केन्द्रबाट मतदाता परिचय वितरण, पार्टी प्रतिनिधि परिचयपत्र वितरणलगायतका कार्य सम्पन्न भइ सकेको छ ।

इन्सेक बागमति प्रदेश अन्तर्गत स्थानीय निर्वाचनसम्बन्धी जिल्लागत दैनिक निम्नानुसार रहेको छ ।

इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार तामाकोशी गाँउपालिका–६ च्यामाका नेकपा एमाले कार्यकर्ता बिजुलीप्रसाद शर्मालाई कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीले ०७९ वैशाख २८ गते ढालकाजी फुयाललाई गिरफ्तार गरेको छ । बाघखोर बजारमा होहल्ला गर्ने गठबन्धनका कार्यकर्तालाई स्थानीय बासिन्दा उठेर किन हल्ला गरेको भनेर प्रतिवाद गर्दा गठबन्धनका कार्यकर्ताले स्थानीय बिजुलीप्रसाद शर्मा माथि आक्रमण गरी घाइते पारेको स्थानीय एमाले नेता देवी शमौले बताउनु भयो ।

तामाकोशी गाउँपालिकास्थित भिरकोट मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएर फरार भएका सोही पालिका वडा नं. १ का वडा अध्यक्ष महेश काफ्लेलाई प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रबाट वैशाख २८ गते दिउँसो १ सय २५ जनाको मतदाता परिचयपत्र लिएर फरार भएका काफ्लेलाई भिरकोट आसपासमै लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा पौडेलले जानकारी दिनु भयो ।

काफ्लेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी काफ्लेले बताउनु भयो ।

उनीमाथि निर्वाचन कसुर सम्बन्धी सजाय ऐन २०७३ अनुसार कारबाही चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काफ्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट तामाकोशी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी बाहालवाला जनप्रतिनिधि हुन् ।

इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार हेलम्बु गाउपालिका–३ मा एमाले र नेपाली कांगे्रसबीच ०७९ वैशाख २८ गते बेलुका झडप भएको छ । दुवै पक्ष बीचको खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेस कार्यकर्ता हेलम्बु गाउपालिका–३ का मानदोर्जे तामाङ र कांग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता ३६ वर्षीय फ्यान्जो तामाङ घाइते भएका हुन छन् । घाइते दुवै जनालाई उपचारको लागि मेलम्ची अस्पताल भर्ना गरिएको छ ।

त्यसैगरी चौतारा सागाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा ०७८ वैशाख २८ गते बेलुकी माओवादी कार्यकर्ताले एमाले कार्यकर्तालाई फलामको रड र डण्डीले आक्रमण गरेका छन् । आक्रमणबाट एमाले कार्यकर्ता सरद थापा र विकाश पुरी घाइते भएका छन् ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता गंगा श्रेष्ठ र कुलबहादुर श्रेष्ठलाई घटनास्थलबाट राती नै गिरफ्तार गरेको छ । घाइतेहरूलाई उपचारको लागि चौतारा अस्पताल भर्ना गरिएको छ ।

त्यस्तै चौतारा सागाचोकगढी नगरपालिका–७ मा वैशाख २८ गते बेलुकी माओवादी र नेपाली कांग्रेस बीच झडप भएको छ । नेपाली कांग्रेस कार्यकर्ताहरूले बागमती प्रदेश सांसद तथा पूर्व सामाजिक विकाश मन्त्री युवराज दुलाल र अन्य दुई माओवादी कार्यकर्ताको घरमा ढुङ्गामुढा गरी घरमा क्षति पुर्याएका छन् ।

यसैबीच स्थानीय तह निर्वाचन ०७९ को लागि जिल्लाका  सबै मतदान केन्द्रहरुमा निर्वाचनको तयारी पुरा भएको र नयाँ मतदाताहरूका लागि परिचयपत्र वितरण कार्य जारी रहेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाभर १ सय ४४ मतदान स्थलमा ३ सय १६ मतदान केन्द्र रहेका छन् । तीन नगरपालिका सहित १२ वटा स्थानिय तहमा ५६ हजार ८ सय ३२ नयाँ मतदाता थपिएका छन् । सबै मतदान केन्द्रहरुमा बैशाख २९ गते नयाँ मतदाता परिचय बितरण भएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताउनु भयो ।

इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा ०७९ वैशाख २८ गते राती नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट २१ जना नेपाली कांग्रेस कार्याकर्ता घाइते भएका छन् । मौन अवधीमा माओवादी कार्यकर्ताहरूले आफ्ना कार्यकर्तालाई धम्की दिएको भन्ने सूचना पाएर आफ्नो कार्यकर्ता भेट्न गएका बेला बाटोमाथि लुकेर बसेका माओवादी कार्यकर्ताहरूले आक्रमण गरेको नेपाली कांग्रेसका घाइते कार्यकर्ता विष्णु नेपालीले बताउनुभयो ।

माओवादी आक्रमणमा नेपाली कांग्रेस वडा अध्यक्ष उम्मेदवार ४३ वर्षीय भुपेन्द्रकुमार श्रेष्ठ, कांग्रेस कार्यकर्ताहरू ४२ वर्षीय तेज कुमार श्रेष्ठ, २८ वर्षीय कविराज श्रेष्ठ, ३० वर्षीय प्रकाश श्रेष्ठ, ४० वर्षीय हरिबहादुर श्रेष्ठ, ३९ वर्षीय बाबुराम श्रेष्ठ, ४० वर्षीय राजकुमार उपरकोटी, ३५ वर्षीय विष्णुकुमार नेपाली, रहेका छन् ।

यसैगरी अन्य घाइतेहरूमा सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णुकुमार श्रेष्ठ, धनबहादुर नेपाली, रामहरी मगराती, राजकुमार श्रेष्ठ, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना,  विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, लगायत घाइते भएकोले सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरू सबै नीलकण्ठ नगरपालिका –६ निवासी हुन् । घाइतेमध्ये वडा अध्यक्ष उम्मेदवार भुपेन्द्रको अनुहार र आँखामा गम्भीर चोट लागेको छ । विष्णु नेपालीको टाउँकोमा गम्भीर चोट छ । घाइतेमध्ये गम्भीर स्वास्थ्य अवस्था भएका भुपेन्द्र श्रेष्ठ, विष्णु नेपाली र राजकुमार श्रेष्ठलाई काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।

आक्रमणमा सम्लग्न भएको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता कृष्णकुमार श्रेष्ठ, अनिलकुमार श्रेष्ठ र सुरेन्द्र शाहीलाई गिरफ्तार गरेको छ । उनीहरूले आफूहरू घटनामा सम्लग्न नभएको बताएका छन् । नेकपा माओवाद केन्द्रलले भने आफ्ना कार्यकर्ता अनिल श्रेष्ठ र विष्णु राना घाइते भएको जनाएको छ । तर उनीहरूको कहाँ छन् भन्ने बारे खुलाएको छैन ।

Photo1Dhading20790129 Photo2Dhading20790129 Photo3Dhading20790129 PhotoDhading207900129Bhupendra shrestha

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न गराउनको लागि कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी खटाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले दिनुभएको जानकारी अनुसार  १ हजार ४ सय ३५ जना कर्मचारी, १ हजार ३ सय २५ जना म्यादी प्रहरी, ८ सय १८ जना नेपाल प्रहरी, ३ सय ५० जना सशस्त्र प्रहरी, ४ सय ८० जना नेपाली सेना खटाइएको छ ।

सेनाको हकमा १२ स्थानीय तहमा कम्तिमा ४० जना रहने गरी टोली ४ सय ८० खटाइए पनि आवश्यकता अनुसार थप हुने र त्यसको लागि सेनालाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी रिसालले बताउनुभयो ।  नेपाली सेनाको टोली हरेक मतदानस्थलबाट २०÷२५ मिनेटको दुरीका रहनेछन् ।  असहज अवस्था भएमा २०÷२५ मिनेटभित्रमा मतदानस्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको प्रजिअ रिसालले बताउनुभयो

जिल्लामा १ सय ३२ निर्वाचन स्थलमध्ये जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, संबेदनशील र सामान्य भनेर मतदानस्थलको वर्गिकरण गरेको छ । अति संवेदनशील ५०, संवेदनशील ५३ र सामन्य २९ मतदान स्थल रहेको छ । भौगोलिक विकटता, विगतमा भएको निर्वाचनमा भएको घटनाको मुल्यांकन, जातियता, सांस्कृतिक तथा साम्प्रदायिता, अपराधिक व्यक्तिको प्रयोग हुन सक्ने जस्ता आधारमा विभाजन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो ।

जिल्लामा १ सय ३२ मतदानस्थलका २ सय ८७ वटै मतदान केन्द्रमा कर्मचारीहरु पुगेर मतदान स्थल व्यवस्थापन तथा निर्माण कार्य सम्पन्न गरिसकेको र ३० वैशाखको मतदानको तयारी पुरा गरीसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिनुभयो । १२ स्थानीय तह, ८८ वडा रहेको नुवाकोटमा स्थानीय तह निर्वाचनको लागि २ हजार २ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

रामेछाप प्रतिनिधि नबराज पथिकका अनुसार गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा ०७९ वैशाख २९ गते नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । झडपमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ४० वर्षीय यमबहादुर कार्की (भूपाल) घाइते हुनुभएको छ ।

कार्की सहितको माआवादी टोली र एमालेका ३५ वर्षीय रवीन सुनुवार नेतृत्वको टोली बीच झडप भएको थियो । टाउकोमा चोट लागेका घाइतेलाई स्थानीय रस्नालु अस्पतमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।

Ramesh sunuar

यसैगरी, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा ०७९ वैशाख २८ गते राति नेपाली कांग्रेस र राप्रपा कार्यकर्ताबीच भएको झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३५ वर्षीय रमेश सुनुवार घाइते हुनुभएको छ । मौन समयमा घरदैलो गर्दै हिँडेका दुवै समूहका कार्यकर्ता बीच जम्का भेट भएपछि झडप भएको थियो ।

झडपका क्रममा सुनुवारको टाउकोमा चोट लागेको छ । उहाँको बाम्ती अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा राप्रपाका वडाध्यक्षका उम्मेदवार ४१ वर्षीय पवित्रकुमार सुनुवार र स्थानीय ३३ वर्षीय प्रदीप श्रेष्ठलाई राति नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।

इन्सेक मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार बकैया गाउँपालिकामा चुनावी माहोलको विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपमा  बकैया गाउँपालिका–७ निवासी माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटी उपाध्यक्ष हरि राई घाइते भए ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले आफूहरुलाई दुबै पक्षको निवेदन आएको र घाईतेको उपचार पश्चात घटनाको विषयमा थप छानविन हुने जानकारी दिनुभयो ।

ghaite bakaiya kutpit

स्थानीय तह सदस्य निर्वाचन २०७९ को मौन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित बाड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् । बैशाख २८ गते दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वार सहित स्थानीयले रोकेका हुन् ।

बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताउनुभयो ।

यस्तै मनहरी गाउँपालिका –३ का लागि वडा अध्यक्षका उम्मेदवार अनन्तकुमार अर्यालले बैशाख २८ गते बाढ्न लागेको जस्ता स्थानीयले नियन्त्रणमा लिएको छ । नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार अर्यालले निर्वाचन आचारसंहिता विपरित मनहरी –३ लामिटारमा रहेको प्रतीक्षालय छाउनको लागि भनेर ल्याएको २७ पाता जस्ता स्थानीयले नियन्त्रण गरी प्रहरीलाई बुझाएको हो । अर्यालले निर्वाचन आचार सहिताको उन्लङ्घन गर्नुको साथै मौन अबधिमा जनतालाई भोटको लागि फकाउन सार्बजनिक स्थलको लागि सहयोग गरेको जस्तो गरेर जनतालाई फकाउने कार्य भएको भन्दै जस्ता नियन्त्रणमा लिए प्रहरीलाई बुझाएको स्थानीय विष्णु अधिकारीले बताउनुभयो ।

water pipe jastapata

स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि सबै मतदान स्थलहरूको तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न १ सय ६५ मतदान स्थलका लागि २ हजार ८ सय ३८ कर्मचारी खटाएको निर्वाचन आयोग बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताउनुभयो । जसमा १ हजार ७सय ७० जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइएको छ । भोलि एक दिनको लागि १ हजार ६८ जनालाई मतदान अधिकृृतहरूले स्वयमसेवकको रुपमा खटाउने तयारी भएको छ ।

मकवानपुरमा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् भने इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम मतदाताहरू छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।

यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि सरकारले १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

सबै स्थानीय तहमा मतगणना स्थल तोकियो

स्थानीय तहको निर्वाचनको मतगणना गर्न मकवानपुरका १० वटै स्थानीय तहमा मतगणना स्थल तोकिएको छ । हेटौंँडा उपमहानगरपालिकाको मतगणना स्थल हेटौंडा–२ स्थित सिद्धार्थ माविमा तोकिएको छ । हेटौंडामा १ सय १३ वटा मतदान केन्द्र तोकिएको छ । भीमफेदी गाउँपालिकामा मत गणना गर्ने स्थल भीमफेदी–६ स्थित महेन्द्र माविमा तोकिएको छ । भीमफेदीमा १४ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्र रहेका छन् ।

मकवानपुरगढी गाउँपालिकामा मतगणना स्थल ३ नम्बर वडा कार्यालयको सभाहलमा तोकिएको छ । गढीमा १२ वटा मतदान स्थल र २३ वटा केन्द्र तोकिएको छ । यस्तै, बकैया गाउँपालिको मतगणना केन्द्र वडा नम्बर ३ स्थित पालिकाको सभाहलमा तोकिएको छ । बकैयामा १७ वटा मतदान स्थल र ३५ वटा केन्द्र तोकिएको छ । बागमती गाउँपालिकाको मतगणना स्थल वडा नम्बर ४ स्थित बुद्ध आधारभूत विद्यालयमा तोकिएको छ । बागमतीमा १६ वटा मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।

यस्तै, मनहरी गाउँपालिकामा मतगणना केन्द्र वडा नम्बर ३ स्थित गाउँपालिकाको सभाहलमा तोकिएको छ । मनहरीमा ११ वटा मतदान स्थल र ३० वटा केन्द्र तोकिएको छ । कैलाश गाउँपालिकाको मतगणना स्थल वडा नम्बर ३ स्थित गाउँपालिकाको सभाहलमा तोकिएको छ । कैलाशमा १० वटा मतदान स्थल र २० वटा केन्द्र तोकिएको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटाैँडा