बागमती प्रदेशको बजेटः कोभिड विरुद्धको खोप किन्न २ अर्ब रुपियाँ विनियोजन (बजेटको पूर्ण पाठसहित)

  ०७८ असार १ गते

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोभिड विरुद्धको खोप किन्न २ अर्ब रुपियाँ विनियोजन गरेको छ ।

प्रदेशसभामा आज सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो रकम विनियोजन गरेको बताउनु भयो ।

कोभिड महामारी विरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रममार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकलाई खोप प्रदान गर्न प्रदेश सरकारले २ अर्ब रुपियाँ बजेट छुट्याएको हो ।

कोभिड–१९ का कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजार रुपियाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक २ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले वताउनुभयो ।

स्थानीय तहका ३ सय ५९ ओटा सामुदायिक माध्यमिक विद्यालयमा हाल कार्यान्वयनमा रहेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

यसरी नियुक्त भएका स्वास्थ्यकर्मीलाई कोभिड–१९ लगायत सरूवा रोगको रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन र अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था मिलाएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

कुल विनियोजन मध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपियाँ बजेट छुट्याइएको छ । यस्तै पुँजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपियाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको मन्त्री ढुङ्गेलले बताउनुभयो ।

कुल विनियोजनमा चालुतर्फ ४५ प्रतिशत, पुँजिगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

बजेटको पूर्ण पाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहोला 


पुष्पराज अधिकारी