बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स

  ०८० जेठ १६ गते

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले ०८० जेठ १४ गते ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताउनु भयो । उहाँले कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा सो कार्यक्रम विस्तार हुने बताउनु भयो ।

बागमती प्रदेश सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम सञ्चालनको घोषणा गरेको छ । प्रदेश प्रमुख शर्माले ‘गृहणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीहरूलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने सरकारले नीति लिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनयुद्ध र जनआन्दोलनका घाइतेहरूलाई प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको लागि सबै अस्पतालहरूमा विस्तार गर्ने विषय समेट्नु भएको छ ।

प्रदेश सरकारले लैङ्गिक हिंसाबाट प्रभावितहरूको लागि उद्दार, राहत, मनोसामाजिक परामर्श र पुर्नस्थापनसम्बन्धि सामाजिक सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने भएको उहाँले बताउनु भयो ।

सरकारले दिगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ ।

३१ बुँदामा प्रस्तुत गरिएको नीति कार्यक्रमहरू शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, रोजगार, खानेपानी, सिँचाइका विषय प्राथमिकतामा रहेका छन् । नीति कार्यक्रममा युवा लक्षित कार्यक्रम, स्वारोजगार हुने किसिमका सीप मुलक तालिम लगातय पर्यटन, जात धर्म, भाषाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू समेटिएको छ ।

‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन सङ्घीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

Photo_080-2-16_Makwanpur


पुष्पराज अधिकारी