बाँदरमुढे घटनाको १४ वर्षः न सत्य न न्याय !

तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको १४ वर्ष पूरा हुँदासमेत न सत्य सार्वजनिक गरिएको छ न पीडितलाई न्याय नै दिइएको छ ।

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा जेठ २३ गते जारी विज्ञप्तिमा पीडितलाई न्याय बिलम्ब गरेको प्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

'यहाँ स्मरण गर्नुपर्ने विषय के हो भने घटनालगत्तै २०६२ जेठ २३ गते नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने उल्लेख थियो ।'-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विस्तृत शान्ति सम्झौतालगायत अन्य कैयौँ राजनीतिक सहमतिहरूमा बाँदरमुढेलगायत घटनाका द्वन्द्व पीडितहरूको न्यायका सम्बन्धमा चर्चा गरिएको भए पनि न्याय र परिपूरणबिना १४ वर्षहरू बितेको इन्सेकले जनाएको छ ।

'साबिकको कल्याणपुर गाविस-१ र ४ को सीमानामा पर्ने बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ साल जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो ।'-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनामा परी ७२ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये चार जनाको घटनाको केही समयपछि मृत्यु भएको थियो । यसरी घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ । घाइतेमध्ये १० जना अहिले पनि नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा छन् ।

'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनको पूर्णरूपमा उल्लङ्घन भएका यस्ता घटनाहरूको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने विषयमा सङ्क्रमणकालीन न्यायका संयन्त्रले तदारुकता देखाएको पाइन्छ न त सरकारले नै !'-विज्ञप्तिमा जनाइएको छ ।


अनलाइन डेस्क