बाँकेका ३५ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समिति बाँकेले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार जिल्लाका १ सय १ मतदान केन्द्र सम्वेदनशील र १ सय ९१ मतदान केन्द्र सामान्य रहेका छन् । बाँके जिल्लामा ३ सय २७ मतदान केन्द्र र १ सय ३६ मतदानस्थल रहेका छन् ।

त्यसैगरी निर्वाचनमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी नेपाल भारत सीमा नाका मङ्सिर १९ गतेदेखि बन्द गरिएको उनले जानकारी दिए । मङ्सिर २१ गते राति १२ बजे सम्मका लागि सीमा बन्द गरिएसँगै सीमामा नेपाल भारत संयुक्त सुरक्षा गस्तीसमेत बढाइएको छ ।

सीमा बन्द गरिएपनि नेपाल आउने व्यक्तिहरूको चाप बढेपछि दुई घण्टाको लागि नाम दर्ता गरेर नाका खोलिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्स्पेक्टर राजन गौतमले बताए ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको दुई दिन मात्र बाँकी रहँदा जिल्लाका सबै मतदान केन्द्रबाट परिचय-पत्र वितरण कार्य सुरू भएको छ ।

मङ्सिर १८ गते निर्वाचान सामग्री लिएर मतदान स्थल लागेका कर्मचारीले मङ्सिर १९ र २० गते मतदाता परिचय-पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।


विनोद पाण्डे