बहुविवाह गरेको कसुरमा एक वर्ष ६ महिना कैदको फैसला

बहुविवाह गरेको कसुरमा कल्याणपुर जब्दी गाविस-१ का २८ वर्षीय रामकुमार यादवलाई जिल्ला अदालत सिरहाले मङ्सिर ७ गते एक वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश पुर्णेश्वरप्रसाद उपाध्यायको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । त्यसैगरी अर्की आरोपित २५ वर्षीया राधा यादवलाई सफाई दिने फैसला भएको पनि सहायक सरकारी वकिल दनुवारले बताए ।

कल्याणपुर जब्दी गाविस-१ की २४ वर्षीया रितादेवी यादवले उनका पतिले कर्जन्हा गाविसकी राधा यादवसँग गएको असार १५ गते बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १७ गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपित दुवै जनालाई भदौ १८ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले आरोपितहरूलाई असोज ७ गते जनही ३० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।


दुर्गा परियार