बल्झिरहन्छन् द्वन्द्वका घाउहरू !
म द्वन्द्वपीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउँपालिका-६ पुर्कोटदहका ६८ वर्षीय तुलबहादुर कुँवरका आँखा रसाए । त्यसपछि उनको मात्र होइन, धेरैको मन अमिलो भयो । १० वर्षे जनयुद्धका क्रममा राज्य पक्षको आक्रमणबाट उनका दुईजना छोरा मारिएका थिए । ६ जना छोराका बुवा तुलबहादुर जब मारिएका छोरा सम्झन्छन् उनका आँखा रसाउन थालिहाल्छन् । 'देश र जनताका लागि भन्दै युद्धमा होमिएका दुवै छोरा मरे ।'-उनले भने-'व्यवस्था परिवर्तन त भयो । तर, छोराहरूले सोचेजस्तो भएन ।' स्थानीय शान्ति समिति गुल्मीले आयोजना गरेको द्वन्द्व पीडितका लागि सम्मान तथा पुनर्मिलन कार्यक्रममा आएका उनले परिवारलाई जतिसुकै सम्मान गरेपनि भौतिक शरीर नफर्किने भन्दै दुःख पोखे । उनका २२ वर्षीय जेठो छोरा कृष्ण २०५६ सालमा धुर्कोट चौकी आक्रमणमा र २१ वर्षीय माईलो छोरा जगत २०५८ मा रोल्पाको थवाङ आक्रमणमा मारिएका थिए ।
तुलबहादुरका दुवै छोरा विवाहित हुन् । बुढेसकालका सहारा छोराहरू देश र जनताका लागि भन्दै युद्धमा गएपछि कुँवरको मनमा शान्ति थिएन । कमाउने अवस्थाका छोराहरू युद्धमा ढालिए । पीडा उनलाई मात्र थिएन, पतिको प्रतिक्षामा बसेका बुहारीहरूलाई पनि थियो । '०५६ सालमा जेठो छोरा कृष्ण धुर्कोट चौकी आक्रमणमा मारिएको केही दिनमै बुहारीले घर छाडिन् ।'-उनले भने-'०५८ सालमा माइलो छोरा रोल्पाको थवाङ आक्रमणमा मारिएको खबर गाउँमा आउना साथ माइली बुहारीले पनि घर छाडिन् ।' तुलबहादुरले थपे-'छोराहरू मारिएपछि बुहारीहरू घर छोडेर हिँडे । कलकलाउँदो उमेरमा के आशले घर बस्ने ? छोराहरूले नै संसार छोडेपछि बुहारीहरूको आशा पनि भएन ।
'उहाँ (पति) जाँदा सानो छोरा ६ महिनाको थियो । मैले कसरी जीवन कटाएँ, के मार्नेलाई थाहा होला के मलाई ?,' छत्रकोट गाउँपालिका-५ खर्ज्याङकी द्वन्द्वपीडित लक्ष्मी श्रेष्ठले भनिन्-'म त्यो दिन सम्झन सक्दिन ।' नेपाल प्रहरीका असई रहेका लक्ष्मीका पति भागवत श्रेष्ठ ०५८ सालमा लमजुङको बिजोरी प्रहरीचौकी आक्रमणका क्रममा विद्रोही पक्षबाट मारिएका थिए । त्यसपछि लक्ष्मीलाई चार जना छोरा हुर्काउन र पढाउन निकै मुस्किल पर्यो । राज्यका तर्फबाट राहत र स्थानीय शान्ति समितिले सम्मान गरेपनि पीडित परिवार त्यति मै सन्तुष्ट छैनन् । 'सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्यो ।'-पीडित श्रेष्ठले भनिन्-'अझै पनि हामी द्वन्द्वपीडितका लागि गाउँमा बस्ने वातावरण तयार भइसकेको छैन ।'
धुर्कोट गाउँपालिका-३ हाडहाडेकी ७३ वर्षीया मनकला काउछालाई पनि विगत सम्झँदा बेलाबेला भक्कानो फुटेर आउँछ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले निधारमा टिका लगाइदिएर सल ओढाइदिँदै गर्दा उनका आँखा रसाए । तीन छोरा मध्येको कान्छो २० वर्षीय इन्द्रबहादुर काउछा प्रहरीमा भर्ती भएको १८ महिनामै ०५९ कात्तिक २८ गते गोरखाको टाकुकोट इलाका प्रहरी कार्यलयमा आक्रमणमा विद्रोही पक्षबाट मारिए । 'तालिम सकेर घरमा आएपछि फर्केको २२ दिनमै छोरो आक्रमणमा पर्यो ।'-उनले भनिन्-'आमा अब म तलब बुझेपछि आउँछु भनेर गएको थियो । तर, कहिल्यै फर्किएन ।' छोरा सरकारको ड्युटी गर्दागर्दै मारिएको भएपनि राज्यले त्यसको कदर नगरेको उनको गुनासो छ ।
द्वन्द्वको समयमा गुल्मी जिल्लाबाट २ सय ३ परिवार विस्थापित भएका थिए । जिल्लामा १ सय ३३ जना ले ज्यान गुमाएको शान्ति समितिले जनाएको छ । इन्सेकको अभिलेखमा भने ९० जनाको हत्या भएको उल्लेख छ । शान्ति समितिका अनुसार नौ जना अहिलेसम्म पनि बेपत्ता छन् । तर, इन्सेकको अभिलेखमा गुल्मीबाट बेपत्ता पारिएका छैन । शान्ति समितिका अनुसार ६६ जना अङ्गभङ्ग भएका छन् । ति मध्ये हत्या गरिएका १ सय ७ जनाको परिवार, बेपत्ता पारिएका व्यक्तिको नौ परिवार, सम्पत्ति क्षतिमा १ सय ७७, अङ्गभङ्गका ४९, अपहरणमा परेका २३ र विस्थापित १ सय ३७ परिवारलाई राहत दिएको शान्ति समितिका संयोजक जनार्दन घिमिरेले जानकारी दिए । 'राहतले मात्र पुग्ने अवस्था छैन ।'-उनले भने-'समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण पनि तयार गरिदिनुपर्छ ।' सरकारले जिल्लाका साबिकका एक नपा र ७५ गाविसमा स्थानीय शान्ति समिति गठन गरेर शान्ति प्रवर्धनका कार्यक्रम गर्ने गरेपनि पुनर्स्थापनाका प्रभावकारी काम हुन नसकेको उनले बताए ।
स्थानीय शान्ति समितिका सदस्य तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले समाजमा द्वन्द्वको गहिरो पीडा अझै रहेको बताउँछन् । 'सबै अझै ढुक्क भएर बस्ने अवस्था छैन ।'-उनले भने-'पुनर्स्थापनाका लागि थप प्रभावकारी कार्यक्रम ल्याउनु जरूरी छ ।' सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने काम समयमै गर्न नसक्दा पनि समाजमा राज्य र विद्रोही पक्षबाट भएका पीडित परिवारमा अझै समस्या रहेको उनले बताए । देशको व्यवस्था परिवतर्नका लागि लडेका उनकै छोराको सपना पनि अझै पुरा भएको छैन । सिङ्गो व्यवस्था परिवर्तनसँगै सर्वसाधारणले घरदैलोबाटै राज्यका सेवा सुविधा उपभोग गर्ने दिन नजिकिँदै छ । तर, सशस्त्र द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट पीडित भएका परिवारमा भने पीडा उस्तै छ । 'राज्यले केही रकम सहयोग पनि दियो ।'-उनले भने-'व्यवस्था परिवर्तन पनि भयो । तर, सन्तान गुमाएको पीडा त कसरी भुल्न सकिन्छ र ?'-अधिकारकर्मी गणेश विश्वकर्माले गुनासो गरे ।
सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, लोकतन्त्र, गणतन्त्र हुँदै संविधानसभामार्फत जारी गरिएको नेपालको संविधान कार्यान्वयनकै चरणमा छ । सङ्घीय व्यवस्था अनुसार संविधान कार्यान्वयनका लागि सरकार स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । राजनीतिक दलहरू चुनाव प्रचारप्रसारसँगै उम्मेदवार चुन्ने तयारीमा छन् । २० वर्षपछि सर्वसाधरणले आफ्ना नजिकका जनप्रतिनिधि घरदैलोबाटै चयन गर्दै छन् । सशस्त्र द्वन्द्व, जनआन्दोलन र संविधान सभा निर्वाचनपछि व्यवस्था परिवर्तन हुँदै राज्यका सेवा सुविधा सर्वसाधरणको घर आँगनमै पुग्न थालेका छन् । तर, समाजमा द्वन्द्वपछिको रूपान्तरणका लागि वातावरण र प्रभावकारी कार्यक्रम अभावले सर्वसाधारणले अझै पनि द्वन्द्वको पीडा भुल्न सकेका छैनन् ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…