बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका-७ का २० वर्षीय बाबुराम परियारलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको मौखिक उजुरीलगत्तै आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सई यमबहादुर नेपालीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते जिल्ला अस्पताल पर्वतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला घर भई पर्वतको कुश्मा नपा-१ सस्रधारा बस्ने २६ वर्षीय मङ्गले भन्ने अनिल बिकलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पतालमा गरिएको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।


सन्तोष थापा