बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०७८ असार २२ गते

२८ वर्षीया महिलालाई हनुमाननगर कङ्कालिनी नपा–१४ रम्पुराका ३६ वर्षीय सुर्यनारायण यादवले बलात्कार प्रयास गरेको भन्दै असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले असार २१ गते राजविराजमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छन् ।

कोठामा एक्लै सुतिरहेका बेला असार १९ गते मध्यराति आएका आरोपित यादवले गम्छाले मुख थुनी कपडा च्याती बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

आरोपितको नियन्त्रणबाट उम्की होहल्ला गर्दा परिवारका सदस्यहरू र गाउँलेहरू उठेपछि आरोपित भागेको पीडितको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले असार २० गते उजुरी आएपछि इलाका प्रहरी कार्यालय हनुमाननगरसँग बुझ्दा झै–झगडा भएको जानकारी आएकाले बस्तुस्थिति बुझ्न असार २१ गते जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाको टोली नै घटनास्थल पठाएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामसागर सिंहको टोली घटनाबारे थप बुझ्न असार २२ गते घटनास्थल गएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छैन ।


मनोहरकुमार पोखरेल