बलात्कार प्रयास कसूरमा ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ का १९ वर्षीय फत्तबहादुर तामाङलाई ६ महिनाको कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले वैशाख ६ गते ६ महिना कैद सजाय र तीन हजार रूपियाँ जरिबानाको फैसला गरेको अदालतकी स्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।

सरकारी वकिलले बलात्कार प्रयासमा मागदाबी गरेको भए पनि जिल्ला अदालतले यौन दुर्व्यवहारमा परिणत गर्दै उक्त फैसला गरेको नुवाकोट जिल्ला अदालत बार इकाईका निवर्तमान अध्यक्ष अधिवक्ता राजाराम थपलियाले बताउनु भयो ।

पीडितलाई कसूरदारले ०७९ चैत २ गते विद्यालयबाट घर फर्कनेक्रममा बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते  त्रिशूली अस्पतालमा गरिएको थियो ।

जिल्ला अदालतले तामाङलाई ०७९ चैत २२ गते  ५० हजार रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 


नवदीप श्रेष्ठ