बलात्कार प्रयासको घटना ५ लाख रुपियाँमा ‘मिलापत्र’ !

  ०७८ भदौ २८ गते

२५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको घटनामा ५ लाख रुपियाँमा मिलापत्र भएको पीडित महिलाले बताएकी छन्।

शहिद नगरपालिका–२ चोराकोयलपुरमा राँगाको व्यवसाय गर्दै आएका यादवले भदौ २३ गते राति पीडित महिलाको घरमा गएर बलात्कार प्रयास गरेको आरोप थियो ।

बलात्कार प्रयास गरेको घटनाबारे गाउँमा होहल्ला भए लगतै शहिद नगरपालिका–२ का वडाध्यक्ष जैसीलाल भिनवार यादव र स्थानीय युवा शत्रुधन पासवानलगायतका व्यक्तिहरू मिलेर तत्कालै ५ लाख रुपियाँमा घटना मिलापत्र गरेको रहस्य खुलेको छ ।

शहिद नगरपालिका–२ का वडाध्यक्ष जैसीलाल भिनवार यादवले आफुहरू पञ्चायतमा बस्दा कसैले १० लाख रुपियाँ, कसैले ५ लाख रुपियाँ जरिबाना गराउनुपर्ने कुरा चलेपनि यति नै रुपियाँ आरोपितले तिर्नुपर्ने भनी मिलापत्र नगराएको इन्सेक धनुषा प्रतिनिधिलाई टेलिफोनमा बताउनुभयो ।

घटनाको भोलिपल्ट भदौ २४ गते गाउँमा बसेको पञ्चायतबाट ५ लाख रुपियाँ पीडित पक्षलाई दिने र पीडितले प्रहरीमा उजुरी नगर्ने सहमति पञ्चायतमा भएको थियो ।

पीडित महिला पञ्चायतको निर्णयबाट असन्तुष्ट भएपछि पीडित महिलाले भदौ २४ गते इलाका प्रहरी कार्यालय यदुकोहामा आरोपितविरुद्ध उजुरी दिएकी छन् ।

पीडित महिलाले उजुरी दर्ता गराए पनि भदौ २८ गतेसम्म स्वास्थ्य परीक्षण भएको छैन । पीडित महिला स्वास्थ्य परीक्षण गराउन सहमत नभएकाले स्वास्थ्य परीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर सञ्जित भण्डारीले बताउनुभयो ।


दिपेन्द्रप्रसाद सिंह