बलात्कार पीडित बालिकाको न्यायमा पहुँच पुर्‍याउन इन्सेकद्वारा आर्थिक सहयोग

  ०७९ असार २९ गते

इन्सेकले पीडितको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बलात्कारपछि समस्यामा परेकी १५ वर्षीया बालिकालाई अदालत र अस्पताल आउजाउ गर्न समस्या भएको भन्दै इन्सेकलाई सहयोगको लागि निवेदन दिएपछि असार २९ गते आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

पीडित बालिकाले गत असार ४ गते सहयोगको लागि इन्सेकमा निवेदन दिनु भएको थियो ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले सञ्चारकर्मीहरुको उपस्थितिमा असार २९ गते सदरमुकाम खलंगा मै पीडित बालिकालाई १० हजार रुपियाँ नगद हस्तान्तरण गर्नु भयो ।

पीडित बालिकालले आफूमाथि बलात्कार गरेर गर्भवती बनाएको भन्दै ०७८ फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी अन्तर्गत उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीको आधारमा प्रहरीले मालिकार्जुन गाउँपालिका–८ का १३ वर्षीय बालक र २४ वर्षीय किरनसिंह धामीलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्धा दर्ता गरेको छ ।

जिल्ला अदालतले गत फागुन २० गते आरोपित बालकलाई सुधार गृह र किरनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको भएपनि मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

आर्थिक सहयोग रकम बुझ्दै पीडितका बुवाले भन्नु भयो, ‘एक जना आरोपित छुटेर घर पुगेका छन् । अर्कोलाई के गर्ने हुन । मेरो छोरीले न्याय पाउनु पर्छ ।’

छोरीले न्याय नपाएसम्म निरन्तर कानुनी लडाई लड्दै जाने र यस कार्यमा इन्सेकको निरन्तर सहयोगको अपिक्षा गरेको पीडित बालिकाका बुवाले बताउनु भयो ।


नरेन्द्रसिह कार्की