बलात्कार घटना पीडितलाई इन्सेकको सहयोगमा सुरक्षा घरमा व्यवस्थापन

  ०७८ साउन २९ गते

बलात्कार घटना पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा पोखरास्थित एक सुरक्षित घरमा व्यवस्थापन गरिएको छ ।

५० वर्षीय बुबा र ३० वर्षीय काकाले बलात्कार गरी पीडित भएकी बालिकालाई इन्सेक पर्वतको पहलमा सुरक्षित घरमा व्यवस्थापन गरिएको हो ।

पीडितलाई आराेपित बाबुले जेठ ७ गते र काकाले साउन २३ गते बलात्कार गरेको भन्दै पीडितका दाजुले जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन २६ गते उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले आरोपितहरुलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडितकी आमा मानसिक रुपमा अस्वस्थ रहेको र बाबु जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेपछि उनलाई घर परिवारमा पुनःस्थापना गर्ने अवस्था नभएको भन्दै सुरक्षित घरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोधमा पीडितलाई पोखरास्थित सुरक्षित घरमा पठाइएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितहरुविरुद्ध साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबरजस्तीकरणीसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।


सन्तोष थापा