बलात्कार घटना आरोपित गिरफ्तार, धम्की आएको पीडित पक्षको गुनासो

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-२ का २० वर्षीय हेमनारायण मेहतालाई गिरफ्तार गरेपछि आरोपित पक्षले धम्की दिएको पीडित परिवारले गुनासो गरेको छ ।

१२ वर्षीया छोरीलाई ०८१ वैशाख ५ गते हेमनारायण मेहताले बलात्कार गरेको र मेहताविरूद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पक्षले ज्यान मार्ने धम्की दिएको बालिकाकी ३५ वर्षीया आमाले इन्सेक प्रतिनिधिलाई वैशाख ३० गते बताउनु भयो ।

फुसको घर भत्काएर छोरीलाई बलात्कार गरेको र प्रहरीमा उजुरी दिएपछि आरोपित पक्षले ज्यान मार्ने धम्की दिएको बालिकाकी आमाको भनाइ छ । बलात्कारपछि कसैलाई घटनाका बारेमा भने मार्ने धम्की दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । आरोपितका ५० वर्षीय बाबु र ४० वर्षीय मामाले धाकधम्की दिएको र हेमनारायण जेलमा गए नराम्रो हुने भन्दै धम्की दिएको बालिकाकी ३५ वर्षीया आमाले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई ०८१ वैशाख ६ गते गिरफ्तार गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो । प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारको घटना भएपनि आरोपित पक्षले ज्यान मार्ने धम्की दिएको विषयमा पीडित परिवारले जानकारी नदिएको डिएसपी भण्डारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ६ गते गरिएको डाक्टर श्रेया पङ्गेनीले बताउनु भएको छ ।


जयकृष्ण यादव