बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा ६ जना गिरफ्तार

  ०७७ असोज २० गते

बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का २५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई ५५ वर्षीय गल्फे बोहरा र सोही गाउँपालिका–३ का २४ वर्षीय झलक दमाईलाई असोज १९ गते गिरफ्तार गरेको छ ।

१३ वर्षीया बालिकामाथि साउन २६ गते मष्टा गाउँपालिका– २ का राजेन्द्र बोहराले बलात्कार गरेको भएपनि मिलापत्र गराइएको भन्दै पीडित पक्षले असोज ११ गते गते ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी कसुर ढाकछोप सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खड्काले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

बलात्कार घटनाका आरोपित बोहरालाई मष्टा गाउँपालिका– २ की १२ वर्षीया बालिका सम्झना कामीलाई असोज ७ गते बलात्कार गरी हत्या गरेको आरोपमा असोज ८ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज ११ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको प्रहरीले जनायो ।


रमेश केसी