बलात्कार घटनाबाट पीडित महिलालाई पशुपालन समूहबाट निस्काशन

३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३ गते निस्काशन गरिएको पीडितले आरोप लगाएकी छन् ।

पीडित महिलालाई बसेरी गाविस-८ का ३८ वर्षीय बद्री अधिकारीले भदौ १४ गते बलात्कार गरी कुटपिट गरेको भन्दै पीडितले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ती समूहबाट निश्कासन गरिएको पीडितले आरोप लगाएकी हुन् ।

पीडितको अनुहार, घाँटी तथा टाउकोमा चोटसमेत लागेको थियो । उनको सोही दिन जिल्ला अस्पतालमा उपचार गरिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पनि भदौ १८ गते नै जिल्ला अस्पतालमा गरिएको थियो ।

आरोपित अधिकारीलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेपछि गाउँमा रहेका आरोपितका आफन्त र केही छिमेकीले पीडित महिलालाई उजुरी फिर्ता लिन र गाउँको घटना गाउँमै मिलाउन दबाब दिँदै आएको पीडितको भनाइ छ ।

पीडितले उजुरी फिर्ता लिन नमानेपछि गाउँमा रहेको बाख्रा पालन समूह र भैसी पालन समूहबाट निकालिएको पीडित महिलाको आरोप छ ।


सिताराम अधिकारी