बलात्कार घटनाको मुद्दा मुल्तबीमा

  ०७९ चैत १६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार रहेका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

आरोपितले ०७७ फागुन २० गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा ०७८ बैशाख ९ गते उजुरी दिनुभएको थियो । पीडितको काठमाडौं थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा ०७८ बैशाख ९ गते स्वास्थ्य परीक्षण भएको थियो ।

ललाईफकाई घर लगेका आरोपितले बलात्कार गरेपछि विवाहको आश्वासन दिई ०७७ फागुन २१ गते काठमाडौं लगेर आफूलाई छाडी आरोपित बेपत्ता भएको पीडितले बताउनु भयो । काठमाडौं प्रहरीले पीडित, आरोपित र घटनास्थल सप्तरीको भएको भन्दै उजुरी सहित पीडितलाई सप्तरी पठाए पछि जिल्ला प्रहरी कार्यालय सप्तरीले बैशाख १२ गते उजुरी दर्ता गरेको थियो ।

सप्तरी जिल्ला अदालतबाट आरोपितविरुद्ध ०७८ बैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो । आरोपित गिरफ्तार नभएको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७८ फागुन १८ गते अभियोग पत्रदायर गरेको थियो ।


मनोहरकुमार पोखरेल