बलात्कार घटनाको मुद्दा मुल्तबीमा

  ०८१ मङ्सिर २० गते

१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद पौडेलको ०८१ मङ्सिर १८ गतेको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितविरूद्ध ०७९ साउन ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि आरोपित ०८१ मङ्सिर १७ गतेसम्म गिरफ्तार नभएपछि मुद्दा मुल्तवीमा राख्ने आदेश भएको हो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०८० असार ३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन ५ गते गरिएको थियो ।


राकेश नेपाली