बलात्कार घटनाको कसुर ठहर भएको आठ वर्षपछि गिरफ्तार

  ०७८ पुस २२ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको कसुर ठहर भएकको आठ वर्षपछि १३ वर्षीय बालकलाई प्रहरीले पुस २० गते गिरफ्तार गरी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्सपेक्टर देवीप्रसाद गैरेले बताउनु भयो ।

बालकलाई जिल्ला अदालत प्यूठानले ०७० वैशाख २९ गते दोषी ठहर गरी ६ महिना कैद सजाए तोकेको थियो । आरोपित बालक गिरफ्तार हुँदा २१ वर्षका भएको प्रहरीले जनायो ।

पीडित बालिकालाई आरोपितले ०६९ माघ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २४ गते उजुरी दिएको थियो । बालकलाई प्रहरीले ०६९ माघ २५ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतले ०६९ फागुन १६ गते साधारण तारेखमा छाडेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०६९ माघ २५ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।

साधारण तारेखबाट छुटेपछि बालक फारार रहेको र अदालतले दोषी ठहर गरेपछि पनि आरोपितलाई गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्सपेक्टर देवीप्रसाद गैरेले बताउनु भयो ।


रविन्द्र पाण्डे