बलात्कार घटनाको कसुरमा ६ वर्ष कैद सजाय

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला मिथिला नगरपालिका–४ का ३३ वर्षीय राकेश कुमार महतोलाई जिल्ला अदालत सर्लाहीले ०८० पुस २६ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधिश सुर्यबहादुर थापाको इजलासले आरोपितलाई ६ वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपितले २०७९ फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा फागुन ११ गते उजुरी दिनु भएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १२ गते सर्लाही जिल्ला अस्पताल मल‌‍‌गंवामा गरिएको थियो ।


बुधन साह