बलात्कार घटनाको कसुरमा १४ वर्ष कैदको फैसला

  ०७७ चैत १३ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले चैत ११ गते गोलबजार नपा–१० का २४ वर्षीय दिपक राईलाई १४ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश प्रकाश खरेलको इजलासले यस्तो फैसला गरेको हो । पीडित बालिकालाई ३५ हजार रुपियाँ क्षतिपुर्ति समेत दिने फैसला गरिएको छ ।

पीडित बालिकालाई राईले ०७५ फागुन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन ७ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारले बलात्कार घटनाको आरोपमा राईलाई फागुन ७ गते घरबाटै गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशले चैत ३ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको थियो ।


दुर्गा परियार