बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

  ०७९ चैत १८ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले आरोपितलाई कैद सजायका साथै एक लाख रुपियाँ क्षतिपूर्ति भराउने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।

आरोपितले ०७५ माघ २९ गतेदेखि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७६ जेठ ३१ गते उजुरी दिनुभएको थियो । विवाहको आश्वासन दिई यौन सम्बन्ध राखेका आरोपितले विवाह गर्न अस्विकार गर्दै भारतको बिहार तर्फ गएकाले बलात्कारको उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडितको ०७६ जेठ ३१ गते गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपित गिरफ्तार नभए पछि जिल्ला अदालतमा २०७६ माघ २२ गते अभियोग पत्र दायर भएको थियो । आरोपित गिरफ्तार भए पछि जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले ०७९ कात्तिक २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

 


मनोहरकुमार पोखरेल