बलात्कार घटनाका फरार कसुरदार २५ वर्षपछि गिरफ्तार

  ०७९ भदौ १८ गते

६ वर्षीया बालिकालाई ०५४ साल मङ्सिर ८ गते बलात्कार गरेको घटनाका फारर कसुरदार भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका ४० वर्षीय दीपक तुल्सीब्याखोलाई प्रहरीले २५ वर्षपछि प्रहरीले गिरफ्तार गरेको छ ।

नाबालिका बलात्कार मुदामा दोषी ठहर गर्दै ०६३ माघ ८ गते सर्वोच्च अदालतले ८ वर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला कार्यान्वयन नगरी फरार तुल्सीब्याखोलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कास्की प्रहरीको समन्वयमा पोखराबाट भदौ १६ गते गिरफ्तार गरी भक्तपुर ल्याएको प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो ।

फरार तुल्सीब्याखो पोखरामा बसोबास गरी वयवसाय सञ्चालन गर्दै आएको गोप्य सूचनाको आधारमा पोखराबाटै गिरफ्तार गरी भदौ १७ गते फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो ।

जिल्ला अदालतले भदौ १७ गते नै तुल्सीब्याखोलाई अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौंँको जगन्नाथ देवल कारागार चलान गरेको एसपी पाण्डेले जानकारी दिनुभयो ।


रमेश गिरी