बलात्कार घटनाका फरार कसुरदार कारागार चलान

  ०७८ माघ २९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा सहयोग पुर्‍याएको कसुरमा सजाय तोकेपछि फरार रहेकी रिहरपुरगढी गाउँपालिका–३ की ४३ वर्षीया बुद्धिमाया घिसिङलाई प्रहरीले माघ २६ गते कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

सुस्त मनस्थितिकी बालिकालाई ०७६ कात्तिक १६ गते बुद्धिमायाको घरमा बलात्कार गरेको र सो घटनामा सहयोग गरेको कुसुरमा जिल्ला अदालतबाट ०७७ पुस १९ गते जिल्ला न्यायाधीश सन्दोषप्रसाद पराजुलीको इजालसले उनलाई ६ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेकोमा फैसला कार्यान्वयन गर्न प्रहरीले माघ २६ गते बुद्धिमायालाई घरैबाट गिरफ्तार गरेको डिएसपी मनोजकुमार लामाले बताउनु भयो ।

बुद्धिमाया घिसिङलाई ६ वर्ष कैद सजाय ठहरी फैसला भएकोमा, अनुसन्धानको क्रममा ०७६ कार्तिक १९ गतेदेखी मङ्सिर ११ गतेसम्म थुनामा बसी ०७६ मङ्सिर १२ गते देखी ५० हजार रुपैंया धरौटी बुझाई पुर्पक्षको लागि तारेखमा रिहा भएकी थिइन् ।

तरुल खन्न बारीमा गएकी पीडित बालिकालाई अपरिचित व्यक्तिले बुद्धिमायाको घरमा लगि बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बुद्धिमायालाई प्रहरीले कात्तिक १९ गते गिरफतार गरेको थियो भने बलात्कारका मुख्य आरोपित अन्दाजी २५ वर्षीय पुरुष हालसम्म फरार रहेको र उसको हकमा मुद्दा मुल्तवीमा रहेको डिएसपी लामाले बताउनु भयो ।


नविनबावु अधिकारी