बलात्कार घटनाका पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०७९ असार ३० गते

बलात्कार घटनाका पीडित परिवारलाई इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले ०७९ असार ३० गते रू. ५ हजार आर्थिक सहयोग गर्नु भएको छ ।

पाँच वर्षीया बालिका बलात्कृत भएपछि न्यायको लागि जिल्ला सदरमुकामसम्म आउन समस्या भएको अवस्थामा पीडितको न्यायको पहलका लागि इन्सेक बागमती प्रदेश कार्यालयको आर्थिक सहयोगमा पीडित परिवारलाई नगद प्रदान गरिएको अधिकारीले बताउनु भयो ।

पाँच वर्षीया बालिकालाई घरमा एक्लै भएको अवस्थामा ०७९ असार १५ गते त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विकले बलात्कार गरेको आरोप छ ।

पीडितका बुवा अमा काममा गएको समयमा बालिकालाई बलात्कार गरी फरार भएका विकविरुद्ध जिल्ला सदरमुकाम आउन जानसमेत आर्थिक अभाव भएपछि इन्सेक प्रतिनिधिको पहलमा जिल्ला प्रहरी कार्यालयमा आरोपित विरुद्ध असार १६ गते उजुरी दिइएको थियो ।

सोही उजुरीको आधारमा आरोपितलाई प्रहीले असार १६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते धादिङ अस्पतालमा गरिएको थियो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा