बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

  २०८१ वैशाख २०

११ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई इन्सेकले ०८१ वैशाख २० गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तको निवेदन र जिल्ला प्रहरी कार्यालयको सिफारिसमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडित बालिकालाई ७० वर्षीय हजुरबुबाले वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । घटनाका आरोपितलाई वैशाख १२ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्कर पोख्रेलले इन्सेकलाई बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते गुल्मी अस्पताल, तम्घासमा भयो ।

बालिका चार वर्षदेखि मामाघरमा बस्दै आएकी थिइन् । बालिकाकी आमाले अर्को विवाह गरेर गएको चार वर्ष भयो । बुबाले पनि अर्को विवाह गरेर भारतमा बस्दै आएपछि पीडित बालिका मामाघरमा बस्दै आएकी थिइन् । उनी अहिले कक्षा ३ मा पढ्छिन् । बालिका बलात्कारमा परेपछि सहजीकरण गर्ने कोही छैनन् । अहिले फुपुले बालिकालाई प्रहरी र अदालतसम्म ल्याउने र लैजाने कुरामा सहजीकरण गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पोख्रेलले बताउनु भयो । उहाँले कुनै संस्थाको संरक्षणमा बालिकालाई राख्न सहयोग र समन्वय गर्न इन्सेकलाई आग्रह समेत गर्नुभयो ।


टोपलाल अर्याल