बलात्कार घटनाका आरोपित २० वर्षपछि जेल चलान

बलात्कार गरेको घटनाका आरोपित मेलम्ची नपा–११ जरायोटारका ३६ वर्षीय उत्तम भनिने भोलाबहादुर खड्कालाई घटना भएको २० वर्षपछि ०७७ भदौ ७ गते जिल्ला अदालतले जेल चलान गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले इन्सेक जिल्ला प्रतिनिधिसँग टेलिफोनमा बताउनु भयो ।

इन्स्पेक्टर तामाङका अनुसार १८ वर्षीया विवाहित महिलालाई ०५७ चैत १८ गते बलात्कार गरेको आरोपमा आरोपित खड्कालाई प्रहरीले घटना भएकै दिन गिरफ्तर गरेको थियो । आरोपित तत्कालिन अवस्थामा १५ वर्षको नावालक भएका कारण जिल्ला अदालतको आदेशले ०५८ वैशाख १३ गते अभिभावकको जिम्मा लगाएर धरौटीमा रिहा भएका थिए । आरोपित खड्कालाई जिल्ला अदालतको ०५९ जेठ २२ गतेको फैसलाले १ वर्ष ५ महिना २३ दिन कैद गर्ने फैसला गरेको थियो ।

आरोपित खड्काले उमेर पुगेपछि नाम फरक पारेर नागरिकताको प्रमाणपत्र लिएका कारण तत्काल अदालतको फैसला कार्यान्वयनमा समस्या भएको मेलम्ची नपा वडा नं. ११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले बताउनु भयो ।

नाम फरक परेको र प्रहरीको नजरमा फरार भएको भन्दै आएकोले हाल वडाको सर्जमिन मुचुल्काले उत्तम भनिने र भोलाबाहादुर खड्का भन्ने व्यक्ति एउटै भएको ठहर भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले ०७७ भदौ ७ गते आरोपितलाई जरायटार स्थित आफ्नै घर नजिकबाट गिरफ्तार गरी जिल्ला अदालत बुझाएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर तामाङले बताउनु भयो ।


नातिबावु धिताल