बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०७७ चैत ३ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७, गिम्दीका ३२ वर्षीय रवि केप्छाकी मगरविरुद्ध चैत २ गते महानगरिय प्रहरी वृत चापागाउँमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई ०७७ पुस २५ गते विभिन्न प्रलोभनमा पारी, डरत्रास देखाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध उजुरी दिएको प्रहरी वृत चापागाउँले जनाएको हो ।

बालिकालाई डरत्रास देखाएका कारण घटना बारे उजुरी गर्न ढिला भएको पीडित बालिकाका आफन्तले बताएका छन् ।

विद्यालयका साथीहरूको सहयोगमा बालिका बलात्कार घटनाको जानकारी बाल हेल्पलाइनलाई प्राप्त भएको र हेल्पलाइनको उजुरीका आधारमा प्रहरीले फागुन २६ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।

तर, प्रहरीले बलात्कारको मुद्दामा नभई गिरफ्तार गर्न लाग्दा प्रहरीमाथि अभद्र व्यवहार भएको भन्दै सोही मुद्दामा अरोपितलाई हिरासतमा राखि अनुसन्धान थालेको थियो । आरोपित स्थानीय विद्यालयका शिक्षक हुन् ।

पीडितका आफन्तको उजुरी प्राप्त भएपछि भने आरोपितलाई चैत २ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी बलात्कारको कुसर तथा सजाय ऐनको आधारमा हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालले जानकारी दिएको छ ।


दीपकप्रसाद घिमिरे