बलात्कार घटनाका आरोपित पुनः गिरफ्तार

  ०७९ फागुन १८ गते

सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय बलात्कार घटनाका आरोपित राजाबाबु मुखिया फागुन १७ गते पुनः गिरफ्तार भएको छ ।

फागुन १४ गते जिल्ला अदालत धनुषाबाट प्रहरीले १० दिनको लागि म्याद थप गराई लैजादै गर्दा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका आरोपितलाई फागुन १७ गते पुनः गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका–१ ईनर्वा स्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा गिरफ्तार गरिएको डिएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय सबैलाले फागुन ५ गते आरोपित राजाबाबु मुखियालाई जबरजस्ती करणीको आरोपमा गिरफ्तार गरेको थियो । फागुन १४ गते मुखियालाई दोस्रो पटक जिल्ला अदालतबाट म्याद थप गराई इलाका प्रहरी कार्यालय सबैला भ्यानमा लैजाने क्रममा शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याम्पको वीचको नहरमा हाम फालेर फरार भएका थिए । आरोपितले भ्यानबाट हाम फाल्दा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गौतमले बताउनुभयो ।


दिपेन्द्रप्रसाद सिंह