बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय गोपाल भण्डारी र सोही ठाउँका ३१ वर्षीय बिमल ढकाललाई असार १२ गते गिरफ्तार गरेको छ ।

असार ११ गते नवलपुर जिल्लाको डण्डाबाट ट्रकमा लिफ्ट लिएर चढेर आएकी पीडितलाई ना १ क ४३४९ नम्बरको ट्रकका चालक ढकाल र सह चालक भण्डारीले व्यास नपा १२ को छिर्कनेमा आइपुगेपछि ट्रक भित्रै बलात्कार गरेको भन्दै पीडितले असार १२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेपछि तनहुँ प्रहरीले आरोपितद्वयलाई व्यास नपा–३ दमौली बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए ।

नारयणगढ झर्नु पर्ने ति पीडित महिलालाई उक्त स्थानमा नझारेर बलात्कार पश्चात दमौली बजारमा ल्याई झारिदिएको डिएसपी लामिछानेले बताए ।

पीडित महिला सोही दिन पोखरा गई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १२ गते दमौली अस्पतालमा गरिएको छ ।


प्रकाशचन्द्र भट्टराई