बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया मानसिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा मनाङ ङिस्याङ गाउँपालिका– ३ ङावलका २७ वर्षीय अर्जुन राईलाई प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० चैत ३० गते बलात्कार गरेको भन्दै पीडित महिलाको अभिभावकले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितले कसैलाई भनेमा मारिदिने धम्की दिएकोले डरत्रासका कारण भन्न नसकेको महिलाले खुलाएको मनाङका प्रहरी प्रमुख डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध वैशाख ३० गते जिल्ला अदालतमा बलात्कार कसुर शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


सुमित्रा भुजेल