बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढालाई वैशाख १० गते गिरफ्तार गरेको छ ।

सिमकोट गाउँपालिका–५ स्थित जङ्गलमा वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध वैशाख ३ गते उजुरी दिएका थिए ।  उजुरीपछि वैशाख ६ गते मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

आरोपित बुढा हाल बराहदल गुल्म रानिवन व्यारेक हुम्लामा नेपाली सेनाको जवान पदमा कार्यरत रहेकोले व्यारेकबाट गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ६ गते जिल्ला अस्पतालमा भएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख नन्दबहादुर शाहीले बताउनुभयो ।


नन्द सिंह