बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० कात्तिक १३ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ तालखर्कका १९ वर्षीय प्रकाश पुरीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिकाराम बरालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १२ गते गरिएको छ ।

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कोपिलासगढी गाउँपालिका-३ बाँसपानीका २४ वर्षीय नवराज परियारलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० कात्तिक १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिकाराम बरालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।


तारानाथ फुयल