बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ ३ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका- २ खार्पास्थित आधारभूत विद्यालयमा कार्यरत ३१ वर्षीय शिक्षक किशोर पोखरेललाई माघ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ असोज ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई उदयपुरबाट गिरफ्तार गरी माघ १ गते जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर साहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाले घटनाको विषयमा ढिलो गरी अभिभावकलाई बताएपछि पीडित पक्षले आरोपितविरुद्ध ढिलो गरी प्रहरीमा उजुरी दिएको इन्स्पेक्टर साहको भनाइ छ ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा माघ २ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको इन्स्पेक्टर साहले बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ३० गते गरिएको छ ।


तारानाथ फुयल