बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ असार ४ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनिने ओमप्रकाश मुखियालाई असार ३ गते गिरफ्तार गरेको छ ।

फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

सप्तरी जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले ०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो ।

सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीका अनुसार उनीसहित उनका सालाहरू तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र ५५ वर्षीय ससुरा बिकु मुखियालाई जनही १३ वर्ष कैद सजाय भएको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले ०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिनु भएको थियो ।

गाउँका आठदेखि १२ वर्षका ६ जना बालबालिका भैँसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला आरोपितहरूले अन्य बालकहरूलाई हतियार देखाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर पीडित बालिकालाई सामूहिक बलात्कार गरेको पीडितकी आमाको आरोप छ ।

प्रहरीले ०६४ असोज १० गते घटनास्थल मुचुल्का र असोज ११ गते सगरमाथा अञ्चल अस्पताल, राजविराजमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो ।

अस्पतालले पीडित बालिकाको बलात्कार भएको र भेजिना च्यातिएर रगत बगेको भनेर ०६४ असोज ११ गते स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको थियो ।

अदालतले आरोपितहरूलाई सजायको फैसला गरे पनि क्षतिपूर्तितर्फ ध्यान नदिएको भन्दै पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलासमा ०७५ पुस २७ गते पुनरावेदन दिएको थियो ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दिपेन्द्र अधिकारीको इजलासले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिबापत जनही २० हजार रुपियाँका दरले भराई पाउने भनी ०७७ मङ्सिर ८ गते आदेश गरेको शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनु भयो ।

आरोपितमध्ये श्यामा ०७७ चैत ९ गते गिरफ्तार भई राजविराज कारागारमा रहेको श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको र बिकु अझै गिरफ्तार नभएको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल