बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१० का २० वर्षीय हनिसकुमार चौधरीलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १३ गते विवाहको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते इटहरी अस्पतालमा गरिएको छ ।

त्यसैगरी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–५ बसन्तपुरका ३२ वर्षीय सन्तोषकुमार मेहताविरुद्ध जेठ १६ गते उजुरी परेको छ ।
पीडितलाई आरोपितले गत वर्षदेखि जेठ १३ गतेसम्म पटकपटक विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको थियो ।
उजुरी लगत्तै फरार आरोपितको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १३ गते इनरुवा अस्पतालमा गरिएको छ ।


जयकृष्ण यादव