बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत १३ गते

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ का ४३ वर्षीय श्यामा मुखियालाई चैत १२ गते गिरफ्तार गरेको छ ।

आरोपित मुखियालाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

मुखियासहित आरोपितहरू मुखियाका बाबु ५५ वर्षीय बिकु मुखिया, दाजु ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र भिनाजु तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र भनिने जोगेन्द्र मुखियाले ०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले ०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिनु भएको थियो ।

गाउँका आठदेखि १२ वर्षका ६ जना बालबालिका भैँसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला आरोपितहरूले अन्य बालकहरूलाई हतियार देखाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर पीडितलाई सामूहिक बलात्कार गरेको पीडितकी आमाको आरोप छ ।

प्रहरीले असोज १० गते घटनास्थल मुचुल्का र असोज ११ गते सगरमाथा अञ्चल अस्पताल, राजविराजमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको थियो ।

अस्पतालले पीडित बालिकाको बलात्कार भएको र भेजिना च्यातिएर रगत बगेको भनेर ०६४ असोज ११ गते स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको थियो ।

सप्तरीमा पहिलो पटक बुबा, छोराहरू र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामालाई गिरफ्तार गरिएको हो ।

सप्तरी जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले ०७५ असार ५ गते सामुहिक बलात्कार गरेको कसुरमा चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिनु भयो ।

अदालतले आरोपितहरूलाई सजायको फैसला गरे पनि क्षतिपूर्तितर्फ ध्यान नदिएको भन्दै पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलासमा ०७५ पुस २७ गते पुनरावेदन दिएको थियो ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दिपेन्द्र अधिकारीको इजलासले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिबापत जनही २० हजार रुपियाँका दरले भराई पाउने भनी ०७७ मङ्सिर ८ गते आदेश गरेको शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनु भयो ।

आरोपितमध्ये श्यामाका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य ‘फरार’ रहेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले बताउनु भयो ।


मनोहरकुमार पोखरेल