बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ५ गते

चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको हनुमान इँटा भट्टामा काम गर्ने १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ४ गते दाङ जिल्ला तुलसीपुर नगरपालिका–४ घरभई हनुमान इँटा भट्टामा काम गर्ने ३० वर्षीय सुरेश बादीलाई गिरफ्तार गरेको छ ।

पीडितले प्रहरी वृत्त जगातीमा आफूलाई आरोपितले विगत दुई महिनादेखि डर, धम्की, त्रास देखाई बिरामी हुँदा समेत पटक पटक बलात्कार गरेको र दुई महिनाको गर्भ समेत रहेको भन्दै चैत ४ गते उजुरी दिनु भएको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चैत ४ गते नै आरोपितलाई इँटा भट्टाबाटै गिरफ्तार गरेको थियो । पीडित र  आरोपित दुबैको स्वास्थ्य परीक्षण चैत ४ गते क्रमशः प्रसूति गृह थापाथलीमा र भक्तपुर अस्पतालमा गरिएको डिएसपी जोशीले जानकारी दिनुभयो ।

यसैबीच १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तनहुँ जिल्ला व्यास नगरपालिका–२ दमौलीका ४६ वर्षीय हेमसिंह शाहीलाई महानगरीय प्रहरी वृत्त दरबार मार्गले गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई काठमाडौँको ठमेलस्थित होटलमा लगेर चैत १ गते बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्स्पेक्टर प्रदिप सुवेदीले जानकारी दिनु भयो ।

पीडित महिलाले चैत १ गते नै प्रहरी वृत्त दरबार मार्गमा उजुरी दिनुभएको र सोही दिन आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित र आरोपित दुबैको स्वास्थ्य परीक्षण चैत १ गते क्रमशः प्रसूति गृह थापाथली र वीर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

 


रमेश गिरी