बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२१ वर्षीया महिलालाई साउन २० गते सामूहिक बलात्कार गरेको आरोपमा दाप्चा काशिखण्ड नपा-४ का ३२ वर्षीय किशोर दाहाललाई साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पछिल्लो पटक साउन २० गते आरोपित र उनका साथीहरूले सामूहिक बलात्कार गरी 'यो त मरी' भनेर विष समेत खुवाई छोडेको अवस्थामा बाँचेर प्रहरीमा उजुरी गरेको पीडित महिलाले बताइन् ।

प्रहरी मुद्दा फाँटका कर्मचारीले 'पीडित महिलालाई मुद्दा फिर्ता लिनका लागि निकै धम्की दिएको' पीडित पक्षले आरोप लगाएको छ ।

तर, पीडितले आफ्नो कुरा नबदलेका कारण साउन २३ गते पीडितको स्वास्थ्य परीक्षणका लागि काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा पठाइएको छ ।

यस घटनाका पीडितले न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोग लगायत संवैधानिक र गैरसरकारी निकायहरूलाई अनुरोध गरेकी छिन् ।

त्यसैगरी तीन जना सात वर्षीया बालिकालाई असार ३० गते बलात्कार गरेको आरोपमा महादेवस्थान गाविस-१ का १९ वर्षीय विनोद सापकोटालाई साउन २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितका परिवारले मार्ने धम्की दिएको पीडित बालिकाहरूका अभिभावकले आरोप लगाएका छन् । पीडत बालिकाहरूलाई साउन २३ गते स्वास्थ्य परीक्षणका लागि काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा पठाइएको प्रहरीले जनाएको छ ।

उक्त मुद्दा दर्ता गर्नका लागि इन्सेक प्रतिनिधि, सेलर्ड, साथी, ल्याक र पिपिआर संस्थाका प्रतिनिधि लगायत पत्रकार र कानुन व्यवसायीहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।


भोजराज तिमल्सिना