बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७४ फागुन १६ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोरु गाँउपालिका-२ का २८ वर्षीय हिक्मत शाही र उक्त घटना गाउँघरमा मिलाउन खोजेको भन्दै सोही ठाउँका अन्य ६ जना विरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले माघ १५ गते राति बलात्कार गरेको पीडित पक्षले आरोप छ । पीडित पक्षले माघ १६ गते सोरुकोट प्रहरी चौकीमा उजुरी दिन जाँदा आरोपितका आफन्त नरसुर शाही, नरविर छत्याल, भक्त शाही, कृष्ण मल्ल, पुर्णबहादुर मल्ल र पुर्णप्रसाद भट्टले बाटोमा रोकेर आरोपितबाट ३ लाख रुपियाँ उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताइन् ।

मुद्दा मिलाइदिने भन्दै प्रहरी चौकी जान रोक्ने ६ जना व्यक्तिले घटनामा संलग्न व्यक्तिबाट ३ लाख रुपियाँ समेत बुझेको पीडितका आफन्तले बताएका छन् ।

पीडितयुवतीको स्वास्थ्य परीक्षण फागुन १५ गते जिल्ला अस्पतालमा गरिएको र त्यसमा संलग्न आरोपितहरूको खोजी गरी गिरफ्तार गर्न सोरुकोट प्रहरी चौकी तथा मातहतका निकायलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए ।


जीवन सेजुवाल