बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ताका ५० वर्षीय बनारसी महतो केवटले बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

पीडितलाई वैशाख २२ गते राति आरोपितले बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । आफ्नै आँगनस्थित चापाकलमा पानी लिन गएकी पीडितलाई आरोपितले मुख थुनेर बाँसघारीमा लगी बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ ।

पीडितका बुबाका अनुसार वैशाख २२ गते पानि लिन गएकी बालिकालाई छिमेकका महिलाहरूले वैशाख २३ गते बिहान झिसमिसेमा बाँसघारीमा अचेत अवस्थामा देखेर खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार विक्रम थापाले घटना बारे अनुसन्धान भइरहेको बताउँदै पीडित र पीडित पक्षको बयान फरक भएकोले उजुरी दर्ता नगरिएको जानकारी दिनु भयो । तर, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको आधारमा कानुनी प्रक्रिया अगाडि बढाउने उहाँले बताउनु भयो ।

पीडितलाई वैशाख २८ गते स्वास्थ्य परीक्षणको लागि वीरगंजस्थित नारायणी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।


शम्भुकुमार सुमन