बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१८ वर्षीया मानसिक अपाङ्गता भएकी महिलालाई  बलात्कार गरेको आरोपमा हुप्सेकोट गाउँपालिका– ३ बस्ने ७६ वर्षीय एकराज रेग्मी विरुद्ध ०८० माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

आरोपितले एक महिना अघि महिलालाई बलात्कार गरेको भन्दै पीडितको अङ्कलले उजुरी दिनुभएको हो । महिला मानसिक अपाङ्गता भएको हुनाले घटना घटेको समय यकिन भन्न नसकेको पारिवारिक श्रोतले बताएको छ । महिलाले बताए अनुसार घटना पुसको २८ ÷२९ गतेतिरको हुनसक्ने  परिवारले अनुमान गरेको छ ।

महिलााले माघ १९ गते मात्रै आफ्नी आमालाई घटना बारेमा बताएपछि परिवारले माघ २३ गते प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

प्रहरीले सोही दिन आरोपितलाई घरबाट नै गिरफ्तार गरेर अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको पहलमा प्रहरीले माघ २८ गते उजुरी दर्ता गरेको छ ।

पीडित पक्षले इन्सेक गण्डकी प्रदेशमा गुनासो राखेपछि इन्सेकले माघ २७ गते ताकेता गरेको थियो ।

महिलाको स्वास्थ्य परीक्षण माघ २७ गते मध्यबिन्दु जिल्ला अस्पतालमा भएको छ ।


ज्ञानु पंगेनी