बलात्कार घटनाका आरोपितलाई नौ वर्षकैदको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माङसेबुङ-३ का ६२ वर्षीय लोकेन्द्र राईविरूद्ध जिल्ला अदालत इलामले जेठ ८ गते नौ वर्षकैदको सजाय सुनाएको छ ।

पीडित महिलालाई आरोपितले ०७४ फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।

राईको मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले जबरजस्ती करणी महलको ३(५) बमोजिम पाँच वर्षकैद र हाडनाताकरणी महलको कसुर गरेको ठहर गर्दै जबरजस्तीकरणी महलको २ नम्बर व्यवस्था अनुसार हाडनाताकरणी महलको २ नम्बरको देहाय १ बमोजिम थप चार वर्षगरी नौ वर्षकैदको सजाय सुनाएको हो ।

त्यसैगरी आरोपितबाट पीडितका नाममा १० हजार रुपियाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । राईलाई प्रहरीले ०७४ फागुन ९ गते गिरफ्तार गरेको थियो ।


कोकिला ढकाल