बलात्कार घटनाका आरोपितद्वारा आत्मसमर्पण

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको घटनाका आरोपित शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले माघ ७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

रेग्मीले बिहान जिल्ला प्रहरी कार्यालयमा आई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

आत्मसमर्पण पश्चात् रेग्मीलाई माघ ७ गते नै जिल्ला अदालतमा पेश गरी सात दिनको म्याद लिएर अनुसन्धानको लागि हिरासतमा राखिएको एसपी शाहले जानकारी दिए ।

वडा अध्यक्ष रेग्मीले पटकपटक आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले गत मङ्सिर ६ गते इलाका प्रहरी कार्यालय, बेलचौतारामा उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि आरोपति रेग्मी सोही समयदेखि लुकिछिपी बस्दै आएका थिए । पीडित महिलाको स्वास्थ परीक्षण मङ्सिर ६ गते जिल्ला अस्पताल दमौलीमा गरिएको थियो ।


प्रकाशचन्द्र भट्टराई