बलात्कार गरेको ठहर गर्दै बावुलाई १८ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ५५ वर्षीया बाबुलाई जिल्ला अदालत धनुषाले मङ्सिर ८ गते १८ वर्षजेल सजायको फैसला सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार नन्दकिशोर यादवले जानकारी दिएका छन् ।

पीडित बालिकालाई बलात्कार गरेको आरोपमा ०७२ भदौ ८ गते गिरफ्तार परेका आरोपित जिल्ला अदालतको ०७२ भदौ ९ गतेको आदेशले थुनामा थिए ।

पीडित बालिकालाई ०७२ साउन ३ गते घरमै सुतेको अवस्थामा उनको बाबुले बलात्कार गरेको आरोप थियो ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०७२ साउन ३१ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा सोही दिन गरिएको थियो ।

पीडित बालिकाको बुवा थुनामा रहेको र आमाको मृत्यु भएकाले पीडितकी पाँच वर्षीया बहिनी पछिल्लो एक वर्षदेखि सम्पर्क विहीन रहेको बताइएको छ । यस विषयमा अदालतले जिल्ला प्रशासन कार्यालय धनुषाको नाममा आदेश जारी गर्दै बालिकालाई खोजतलास गरी राज्यलाई जिम्मा लगाउने आदेश गरेको पीडिततर्फा कानुन व्यवसायी रेखा झाले बताइन् । साथै अदालतले पीडित बालिकालाई तत्काल हेटौँडास्थित बालकल्याण गृहमा पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको उनले बताइन् ।


विनोदकुमार रविदास