बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला

  ०७९ चैत १२ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट सात वर्ष कैद, पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा १८ रुपियाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

युवतीको डेरामा २०७८ मङ्सिर १७ गते राति आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर १८ गते दिएको उजुरीका आधारमा प्रहरीले उजुरी परेकै दिन गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय दैलेखले ०७८ पुस ४ गते दैलेख जिल्ला अदालतमा बलात्कार सम्बन्धी अभियोग पेश गरेको थियो ।

अभियोग सम्बन्धमा पुस ६ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
युवतीको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते दैलेख अस्पतालमा गरिएको थियो ।


अमर सुनार