बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

  ०७७ चैत २९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने फैसला गरेको छ ।

न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट ०७७ चैत २७ गते उक्त फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले ०७६ मङ्सिर ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ पुस ३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते दुल्लू अस्पतालमा गरिएको थियो । प्रहरीले आरोपितलाई पुस ३ गते गिरफ्तार गरेको थियो ।

थुनछेक बहसपछि पुस २७ गते आरोपित दिपक बिकलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा राखिएको थियो ।

बलात्कार भए नभएको पुष्टि गर्न विधिविज्ञान प्रयोगशालामा पठाइएको पीडितको ‘भेजाइनल स्वाब’को रिपोर्ट ढिला आएको कारण फैसला पनि ढिला आएको श्रेस्तेदार कार्कीले बताउनुभयो ।


अमर सुनार