बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७८ मङ्सिर ३ गते

१६ वर्षीया बालिकालाई ०७७ असोज २ गते बलात्कार गरेको भन्दै जिल्ला अदालत चितवनले १७ वर्षीय बालकलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले मङ्सिर ३ गते उक्त फैसला सुनाएको हो । कानुनतः १२ वर्ष कैद सजाय तोकिए पनि बालक भएका कारणले सजाय आधा गरिएको र उनलाई बाल सुधार गृह हेटौँडामा राख्न आदेश दिएको अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताउनुभयो ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपित बालकलाई सोही दिन गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतको आदेशपछि बाल सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी